आजदेखि ई–पासपोर्ट जारी गरिँदै, के छन् विशेषता ?

काठमाडौँ । सरकारले आजदेखि विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट जारी गर्दै छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज (बुधवार) अपराह्ण राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम छ ।

अहिलेसम्म मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी भएकोमा आजदेखि ई–पासपोर्ट जारी हुनेछ । सुरुमा दैनिक सीमित सङ्ख्यामा मात्र ई–पासपोर्ट वितरण गरिने भए तापनि एक साताभित्रै पूर्ण रूपमा वितरण गरिने विभागले जनाएको छ । ई–पासपोर्ट जारी भए तापनि तत्कालै ई–पासपोर्ट अनिवार्य नगरिने भएकाले आफूसँग भएको एमआरपीले नै काम चलाउन सकिने पनि विभागले जनाएको छ ।

राहदानी विभागले सन् २०२० डिसेम्बर २० मा फ्रान्सको आईडीआईएमआईए आइडेन्टी एन्ड सेक्युरिटीसँग २ अर्ब ४८ करोड रुपियाँमा ई–पासपोर्ट छपाइका लागि खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले १० महिनाभित्र ई–पासपोर्ट वितरणको काम सकेको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले सुरक्षित भनेर परिभाषित गरेको ई–पासपोर्ट एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो हुनुका साथै उच्च प्रविधिको प्रयोगका कारण अन्तर्राष्ट्रिय जगत्मै विश्वासिलो पनि मानिएको छ । यसमा मोबाइलको सिमजस्तै सानो विद्युतीय चिपको प्रयोग हुन्छ ।

यसमा व्यक्तिगत विवरणसहित बायोमेट्रिक तथ्याङ्क पनि राखिएको हुन्छ, जसले गर्दा कम्प्युटरले सजिलै रिड गर्न सक्छ । बायोमेट्रिक तथ्याङ्कका कारण राहदानीको दुरुपयोग हुने समस्याको समाधान हुने विश्वास गरिएको छ । यसको ‘सेक्युरिटी फिचर’ पनि कडा हुने गर्दछ ।

६४ पृष्ठको ई–पासपोर्टमा पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा हुनेछ । त्यसै गरी, पहिलो पृष्ठमा भने सगरमाथा, दोस्राेमा पोलिकार्बोनेट डाटा, तेस्रोमा लुम्बिनी, चौथो र पाँचौँमा राष्ट्रपति भवन, छैटौँ र सातौ पृष्ठमा एकसिंगे गैँडाको तस्बिर रहने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *