१० हजार रुपैयाँका कारण कार्यक्रम स्थलबाट निकालिए वडाध्यक्ष

विराटनगर । स्थानीय तहमा भ्रष्टाचार भएको भनेर कुरा उठ्दै आएका छन् । भ्रष्टाचारविरुद्धमा कतिपय पालिकामा अभियान नै चलाएको भनिन्छ‚ तर कतिपय पालिकाहरूमा भ्रष्ष्टाचार गर्न नपाउँदा रडाको मच्चिने गरेको छ ।

त्यस्तै एउटा घटना मोरङको पथरी शनिश्चरे नगरपालिकामा भएको छ । सोमबार दिउँसो करिब १ बजेको थियो । वार्षिक समीक्षा कार्यक्रमको आयोजना गरिएको थियो । सबैलाई १ बजे नै बोलाइएका कारण उपस्थित हुने सबै वडा अध्यक्ष, वडासचिव तथा नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरू पनि सहभागी थिए ।

त्यही बेलामा पुगेका थिए वडा नम्बर ४ का वडा अध्यक्ष गोविन्दबहादुर भण्डारी । नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका भण्डारी कार्यक्रम स्थलमा पुगेदेखि नै आक्रोशित मुद्रामा थिए । उनले नगरकार्यपालिकाका मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृत मिलेर मर्मतको नाममा ठुलो रकम खर्च गरेको आरोप लगाए ।

नगरपालिकामा भ्रष्टाचार भएकाले त्यसको छानबिन हुनुपर्ने माग राख्दै आएका उनले कार्यक्रम स्थलमा प्रवेश गरेदेखि नै धेरैलाई गाली गर्न थाले । कार्यक्रम सञ्चालन गर्दै गरेका प्रमुख प्रशासकीय अधिकृत तथा नगरपालिकाका मेयरले कार्यक्रममा चुप लागेर बस्न पटक पटक सुझाए तर पनि भण्डारीले मानेनन् ।

नजिकै भएका कार्यपालिकाका सदस्यलाई उनले गाली गर्ने, प्रमुख प्रशासकीय अधिकृतलाई बोल्नै नदिनेजस्ता कार्य कार्यक्रम स्थलमा निरन्तर गरेको कर्मचारीहरू सुनाउँछन् । वडा अध्यक्षले कार्यक्रममा निरन्तर हल्ला गरेर कार्यक्रम नै गर्न नदिएपछि उनलाई कार्यक्रम स्थलबाट नगर प्रहरीले निकालेको थियो ।

‘उहाँले उठाउनुभएको मागको बारेमा छलफल गर्ने‚ तर यो कार्यक्रममा होइन‚ अर्कै कार्यक्रममा भन्दा पनि मान्नुभएन,’ प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले भने, ‘त्यहाँ कार्यक्रम गर्ने वातावरण नभएपछि नगर प्रहरीले निकालेको हो ।’

वार्षिक समीक्षा कार्यक्रम गर्नैपर्नेमध्येको भएकाले समीक्षामा शाखाहरूले प्रगति विवरण पेश गर्नुपर्ने हुन्छ । त्यसको आधारमा छलफल हुने भए पनि कार्यक्रम गर्ने अवस्था नभएपछि मेयरको आदेशमा वडाध्यक्ष भण्डारीलाई बाहिर निकालिएको कर्मचारीको भनाइ छ ।

‘कि हामी कार्यक्रम नगरी हिँड्नुपर्ने, कि उहाँलाई कार्यक्रम स्थलबाट निकाल्नुपर्ने अवस्था आयो,’ प्रमुख प्रशासकीय अधिकृत खरेलले भने, ‘कार्यक्रम स्थलमा वडाध्यक्षज्यूबाट अभद्र व्यवहार भएपछि निकालिएको हो ।’ नगर प्रमुख दिलीपकुमार राईको निर्देशनमा वडाध्यक्ष भण्डारीलाई नगर प्रहरीले पाखुरामा समातेर बाहिर निकालेका थिए ।

बैठकमा भण्डारीले नगरपालिकामा चरम भ्रष्टाचार भएको भन्दै त्यसको छानबिन गर्नुपर्ने माग गरेका थिए ।

भण्डारीले मेयर, उपमेयर र प्रशासकीय अधिकृत चढ्ने गाडीको मर्मत खर्च बिनाइस्टमेट भएको दाबी गरेका थिए ।

१० हजार विवादको कारण
वडामा विवादित छवि बनाएका वडाध्यक्ष सधैँ कर्मचारीलाई अघि सारेर पेस्की लिन लगाउने र पेस्की नलिँदा झगडा गर्ने प्रवृत्तिको भएको वडा सचिवहरू बताउँछन् । कुनै वडा सचिव पनि त्यो वडामा जान नमान्ने गरेको र गइहाले पनि ३ महिनापछि अन्यत्र सरुवा माग्ने गरेको थिए ।

नगरपालिकाले हरेक वडाध्यक्षका लागि मोटरसाइकल उपलब्ध गराएको छ । त्यही मोटरसाइकल मर्मतका लागि भन्दै मासिक १ हजार र ईन्धनका लागि ४ हजार ४ सय दिँदै आएको छ । तर केही दिनअघि वडाध्यक्ष भण्डारीले १० हजारको थप मर्मत खर्च भनेर बिल पालिकामा पेश गरे । एक लाखभन्दा माथिका मर्मतसहितको बिलहरू रहेको थियो । सबै बिलको चेक बन्यो‚ तर उनले पाउनुपर्ने मर्मत खर्चको चेक बनेन, भुक्तानी भएन । मर्मत आदेश फारम नभरी निकाशा नहुने भन्दै प्रमुख प्रशासकीय अधिकृतले लेखालाई भुक्तानी नगर्न भनेपछि त्यो रकम रोकिएको थियो ।

‘नियमअनुसार मर्मत आदेश फारम भरेपछि मात्र मर्मत गर्ने र भुक्तानी हुने व्यवस्था छ,’ प्रमुख प्रशासकीय अधिकृत खरेलले भने, ‘उहाँले मर्मत आदेश लिएपछि मात्र भुक्तानी गर्न भनेर त्यो रकम रोकिएको थियो । त्यसपछि उहाँ रिसाउनु भएको हो ।’

मर्मत आदेश लिएपछि भुक्तानी दिनेभन्दा भन्दै पनि वडाध्यक्षले तत्कालै रकम भुक्तनी नभएको भन्दै आक्रोश पोखेका थिए । वडाध्यक्ष त्यही कुरालाई लिएर असन्तुष्ट थिए, त्यहाँ कार्यक्रम स्थलमा आएर पनि अभद्र व्यवहार गर्न थालेको उनले बताए ।

‘नीति विधिले चलाउनुपर्छ‚ तर उहाँले नीति र विधिभन्दा पनि आफूले मात्र गरेको ठिक अरुले गरेको बेठिक भन्ने हिसाबबाट प्रस्तुत हुनुभयो,’ उनले भने, ‘यसरी अघि बढ्दा नगरपालिका चलाउन सक्ने अवस्था हुँदैन भन्दा पनि वडा अध्यक्ष मान्नुभएन ।’

वडाध्यक्ष भण्डारीसँग यसअघिका वडा सचिव तरानीधि सापकोटासँग झगडा नै परेको थियो । उनीहरूबीचको मुद्दा न्यायीक समितिसम्म समेत पुगेको थियो । पथरी शनिश्चरे नगरपालिकाकी उपमेयर यमुना विष्टले वडा सचिव र अध्यक्षको मुद्दा न्यायिक समितिमा आएको पुष्टि गरिन् ।

सापकोटासँग लफडा परेपछि अहिले वडामा ईन्दी सुवेदीलाई वडा सचिवको रुपमा पठाइएको छ । उपमेयर विष्टले १० हजारको विषय नै कार्यक्रमभित्र देखिएको समस्याको जड भएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *