यस्तो देखियो ‘विप्लव’को बन्दको प्रभाव (तस्बिरहरू)

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज बिहानैदेखि यात्रुले सास्ती पाएका छन् । विशेष गरी लामो दूरीबाट यात्रा गरेर काठमाडौँ आएका यात्रुले बिहानै सास्ती भोगेका छन् ।

विभिन्न जिल्लाबाट काठमाडौँ आइपुगेका यात्रु काठमाडौँका विभिन्न ठाउँमा अलपत्र परेका छन् ।

कलङ्की, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका चोकमा झरेका यात्रुहरूले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् ।

बन्दको प्रभाव कम गर्न ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको छ । चोक चोकमा प्रहरीको उपस्थिति बाक्लो छ ।

प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी भने सामान्य रूपमा चलिरहेका छन् ।

पोखरामा पनि बन्दको प्रभाव परेको छ । बिहानैदेखि सडकहरू सुनसान छन् । व्यापार व्यवसाय खुलेका छैनन् । लामो र छोटा दुरीका गाडीहरू ठप्प छन् ।

बन्द गराउन चोकहरूमा विप्लवका कार्यकर्ता खटिएका छन् । दुई कार्यकर्तालाई भने बिहानै प्रहरीले पक्राउ गरेको छ । नेकपा कास्कीका जिल्ला सदस्य एवं कार्यालय सचिव काजी गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजलाई छोरेपाटनबाट पक्राउ गरेको हो । उनीहरूले विभिन्न चोकमा टायर बालेका छन् भने विरोध प्रदर्शन पनि गरेका छन् ।

बन्द गर्न हिँडेका १० कार्यकर्तालाई तनहुँबाट पक्राउ गरिएको छ । बिहान करिब साढे ५ बजे पार्टीका जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओमविक्रम पन्तलगायत नेता कार्यकर्ता दमौली ट्राफिक चोकबाट पक्राउ परेको नेकपाले जनाएको छ । शान्तिपूर्ण बन्दको तयारीकै बीच पक्राउ गरिएको भन्दै तत्काल रिहाइको माग नेकपाले गरेको छ ।

पूर्वी नेपालमा बन्दको प्रभाव सामान्य देखिएको छ । झापा मोरङ र सुनसरीमा बन्दको न्यून प्रभाव देखिएको हो । औद्योगिक क्षेत्रमा खासै प्रभाव परेको छैन । सार्वजनिक सवारी साधन चलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *