हत्या आरोपमा झापाबाट पाँच जना पक्राउ

झापा । झापामा एक व्यक्तिको हत्या आरोपमा ६ जना पक्राउ परेका छन् । गौरादह नगरपालिका ५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ वर्षीय सुमेरन खातुन, २६ वर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षीय कुर्समान खातुन रहेका छन् ।

गत कात्तिक ११ गते हराएका मबेसिर हुसेन मियाँको खोजतलास गरी पाउँ भनी उनकी श्रीमती नुरजन खातुनले कात्तिक १४ गते ईलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनको मृत शरीर फेला पारेको थियो ।

कात्तिक २६ गते सद्दामको घर कोठाको झ्यालको पल्ला तथा ग्रीलहरूमा रगतजस्तो रातो पदार्थका छिटाहरू देखिएपछि हुसेनको हत्या गरेको हुन सक्ने आशंकामा अनुसन्धान थालेको प्रहरीले सद्दामको घर खानतलासी गर्ने क्रममा सेफ्टी ट्यांङ्कीभित्र दुर्गन्धित अवस्थामा हुसेन मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट घटनामा प्रयोग भएका घरेलु धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायत प्रमाण योग्य चिजवस्तुहरू बरामद गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि हत्याको आरोपमा पक्राउ परेका पाँचै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *