प्रदेशमा बन्यो केन्द्रकै जस्तो संयन्त्र, साझा कार्यक्रम लेख्न समिति गठन

विराटनगर । केन्द्रमा जस्तै प्रदेश १ मा पनि राजनीतिक संयन्त्र बनेको छ ।

सरकार सञ्चालन र सत्ता गठबन्धनमा रहेका दलहरूबीचको सम्बन्धलाई राम्रो बनाउन भन्दै पाँच दलीय गठबन्धनबाट कांग्रेसको नेतृत्वमा संयन्त्र बनेको हो । पाँच दलीय गठबन्धनले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा राजनीतिक संयन्त्र बनाएको हो ।

संयन्त्रअन्तर्गत रहने गरी कांग्रेसकै सांसद शेखरचन्द्र थापाको संयोजकत्वमा अर्को समिति पनि बनाइएको छ । जसलाई सरकारको न्यूनतम् साझा कार्यक्रम लेखन समितिको नाम दिइएको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले गठबन्धन दलका नेताहरू रहने गरी कांग्रेस संसदीय दलका नेता कोइरालाको नेतृत्वमा संयन्त्र बनेको जानकारी दिए ।

त्यस्तै सरकारको साझा कार्यक्रम लेखन समितिमा थापाको नेतृत्वमा दलहरुले पठाएका प्रतिनिधि सांसद र बाहिरका व्यक्तिहरूसमेत रहने जनाइएको छ ।

संयन्त्रमा सबै दलका नेताहरु रहनेछन् भने साझा कार्यक्रम लेखन समितिमा अरु दलहरूबाट एक/एक जना प्रतिनिधि हुने गरी निर्णय भएको कार्कीले बताए ।

थापाको नेतृत्वमा रहेको समितिले ल्याएको साझा कार्यक्रमलाई अन्तिम रुप भने संयन्त्रको बैठकले दिनेछ । ३० गते मंगलबार विश्वासको मत लिने तय भएपछि तलहरू आन्तरिक गृहकार्यमा जुटेका हुन् ।

आफ्नो सांसदहरू जोगाउन सकसमा देखिएका दलहरुलाई व्यवस्थित गर्नका लागि विश्वासको मत लिनुभन्दा पहिला नै संयन्त्र बनाइएको छ । मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत लिएपछि साझा कार्यक्रम लेखनको काम अघि बढ्ने जनाइएको छ ।

साझा कार्यक्रम लेखन समितिमा थापासँगै माओवादी केन्द्रबाट सांसद धिरेन्द्र शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट राजन राई सदस्य रहेका छन् । जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले पार्टीका नेता प्रतिनिधित्व गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *