मोरङको बुढीगंगामा एक युवकको हत्या

विराटनगर । मोरङको बुढीगंगामा एक जनाको हत्या भएको छ । बुढीगंगा गाउँपालिका ६ कोयलपुरमा दुई युवा समूहबीच ग्याङ फाइट हुँदा एक जनाको हत्या भएको हो ।

आइतबार राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबास घर भई हाल इटहरी उपमहानगरपालिका १३ खनारमा बस्दै आएका २६ वर्षीय रिजन दाहालको हत्या भएको प्रहरीले जनाएको छ । २७ गते बेलुका टर्च बालेको विषयमा विवाद भएको र त्यही विषय रिसिबीको रुपमा लिएर राति हत्या भएको प्रहरीको भनाइ छ ।

बढीगंगा- ६ मा नानु लिम्बुको भतिजीको जन्मदिन मनाउन रिजन शनिबार राति आएका थिए । जन्मदिन पार्टीमा आएर मदिरा सेवन गरेका दुई युवा समूहबीच झगडा हुँदा दाहालको हत्या भएको प्रहरीले जनाएको छ ।

बुढीगंगा- ६ का स्थानीय युवा समूहका ५/७ जनाको समूहसँग विवाद भएको र विवाद बढ्दै गएपछि रिजनलाई लिएर बुढीगंगा- ६ डम्बरबहादुर लिम्बुको बारीमा लगेर आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दाहालमाथि सात जनाको समूहले खुकुरी हानेको प्रहरीको भनाइ छ । आक्रमण गर्ने व्यक्तिको पहिचान भए पनि प्रहरीले नाम सार्वजनिक गरेको छैन । टाउकोमा खुकुरी प्रहार गरी गम्भीर भएका दाहाललाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले बताए ।

शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ । घटनामा संलग्नहरू फरार रहेकाले खोजी भइरहेको डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *