प्रदेश १ : मुख्यमन्त्री राईले ३० गते विश्वासको मत लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत लिने भएका छन् । गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले मंगलबार विश्वासको मत लिने निश्चित भएको हो । आइतबार प्रदेश सभा सचिवालयमा विश्वासको मत लिनेसम्बन्धी सूचना दर्ता गरेसँगै राईले मंगलबार विश्वासको मत लिने निश्चित भएको हो ।

प्रदेश सभाबाट बहुमत रहेको देखाउनका लागि विश्वासको मत लिनुपर्ने व्यवस्था रहेकाले प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीसमक्ष विश्वासको मत लिनेसम्बन्धी सूचना दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री राईका प्रमुख स्वकीय सचिव सन्दीप राईले मुख्यमन्त्री राईले मंगलबार ३० गते विश्वासको मत लिने बताए । ‘म आफैँ प्रदेश सभामा पुगेर सरकारले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएर आएको हुँ,’ उनले मकालुखबरसँग भने, ‘३० गते विश्वासको मत लिने निश्चित भएको छ ।’

संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने व्यवस्था छ । प्रदेश सभाको आगामी बैठक कात्तिक ३० गतेलाई बोलाइएको छ ।

कात्तिक २३ गतेका लागि प्रदेश सभाको पाँचौं बैठक बोलाइएकोमा प्राविधिक समस्या देखाउँदै कात्तिक ३० गते दिउँसो १२:३० बजेका लागि बैठक बोलाइएको छ । प्रदेश सभा नियमावलीको नियम १२८ को उपनियम १ मा संविधानको धारा १६८ को उपधारा (२) वा (३) र धारा १८८ को उपधारा (१) वा (२) बमोजिम मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्ने व्यवस्था छ ।

उपनियम (१) बमोजिम दिइने सूचना प्रस्तावमाथि छलफल हुने दिनभन्दा दुई दिन अगावै दिनुपर्ने सोही नियमको उपनियम (२) मा उल्लेख छ । उपनियम (१) बमोजिमको सूचना प्राप्त भएपछि प्रदेशसभाका सचिवालयले सभामुखसमक्ष पेश गर्ने र सभामुखले बैठकमा प्रस्ताव पेश गर्ने दिन र समय तोक्ने उपनियम (३) व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्री राईले मंगलबार बोलाइएको प्रदेशसभाको बैठकको दुई दिनअगावै आइतबार प्रदेशसभामा सूचना दर्ता गरेका हुन् ।

सभामुख भण्डारीले नियमावलीको नियम १२८ को उपनियम (४) अनुसार प्रस्ताव पेश गर्न अनुमति दिएपछि आफ्नो वक्तव्यसहित विश्वासको मतका लागि बैठकमा प्रस्ताव पेश गर्नेछन् । मुख्यमन्त्री राईसहित नेकपा एमालेका १० सांसद नेकपा (एकीकृत समाजवादी) मा गएपछि तत्कालीन मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका थिए ।

आचार्यले प्रदेश सभामा विश्वासको लिन असफल भएपछि पाँच दलीय विपक्षी गठबन्धनको नेतृत्व गर्दै राई प्रदेश १ को तेस्रो मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *