एमाले सुनसरीकाे अधिवेशन आयोजक कमिटीमा लफडा

विराटनगर । नेकपा एमाले सुनसरीको विवाद थप बढ्दै गएको छ । नेकपा एमालेका सचिव तथा प्रदेश इन्चार्ज भीम आचार्यकै जिल्लामा विवाद उत्कर्षमा पुगेको हो । अरू जिल्लामा प्रतिनिधि छनौट सर्वसम्मत हुँदा एमाले सुनसरीमा भने आन्तरिक विवाद मिल्न नसक्दा १४ औँ महाधिवेशन प्रतिनिधि चयन नै  चुनावी प्रक्रियामा गएको छ ।

पार्टीको आन्तरिक किचलोका कारण प्रतिनिधि छनौट विवादित बनेको हो । अन्तर विरोधका कारण महाधिवेशन प्रतिनिधिमा कोटाभन्दा चार गुणा बढीले मनोनयन दर्ता गराएका छन् । सुनसरीबाट ४२ जना महाधिवेशन प्रतिनिधि छनौट हुनु पर्ने विधानत: व्यवस्था रहेकोमा  १ सय ८८ जनाले मनोनयन दर्ता गराएका छन् ।

सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनौट हुन नसक्ने देखिएपछि एमाले सुनसरीले प्रतिनिधि चयनको लागि कार्तिक ३० निर्वाचनको कार्य तालिका सार्वजनिक गरेको कार्यालय सचिव राम कोइरालाले बताए । निर्वाचन  कार्य तालिका र ४ निर्वाचन क्षेत्रको मतदान केन्द्र समेत तोकी सकिएको उनले बताए ।

उम्मेदवारी मनोनयनमा दाबी विरोध र नाम फिर्ताको लागी अझै २ दिन समय बाँकी रहेको भए पनि मिल्ने र सर्वसम्मतको सम्भावना नभएको नेताहरूले बताउँदै आएका छन् । आइतबार दाबी विरोध गर्ने र सोमबार नाम फिर्ताको समय दिइएको छ । कार्तिक २९ गते समयभित्र नाम फिर्ता गर्ने समय छ । त्यस बेलासम्म सर्वसम्मत हुने गरी नाम फिर्ता नगरे ३० गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने कोइराला बताउँछन् ।

जिल्ला सम्मेलन आयोजक कमिटीमै लफडा 

एमाले सुनसरी जिल्ला अधिवेशन आयोजक कमिटी गठनमै नेता तथा कार्यकर्ताबीचमै व्यापक असन्तुष्टि देखिएकाे छ । पार्टीको विवाद मिलाउने भन्दै नेताहरूले खेमराज पोखरेलेको संयोजकत्वमा सम्मेलन आयोजक कमिटी बनाएपछि एमाले नेता द्वारिकलाल चौधरीले कार्यक्रम स्थलमै माइक खोसाखोस गरेका थिए ।

उनले पोखरेल बोल्दै गर्दा मञ्चमै गएर माइक खोसेका थिए । यस्तै  कार्यक्रममा एमाले नेता रमेश बस्नेत लगायतको समूह नै कार्यक्रममा गएका थिएनन् । एमाले सुनसरीमा रेवतीरमण भण्डारी र रमेश बस्नेत अध्यक्ष रहेको दुई वटा समानान्तर कमिटी काम गर्दै आएको थियो ।

दुवै जनाले आफू नै अध्यक्ष भएको दाबी गरेपछि विकल्पको रूपमा खेमराज पोखरेललाई सम्मेलन आयोजक कमिटीको अध्यक्ष बनाइएको थियो । अधिवेशनबाट अध्यक्ष भएका रेवती रमण भण्डारीले अधिवेशन गराउन नसकेपछि ६ महिना भित्रमा अधिवेशन गराउने गरी परिषद् बैठकबाट द्वारीकलाल चौधरीलाई अध्यक्ष बनाइएको थियो ।

उनी पनि अधिवेशन नगराई इटहरी उप महानगरको मेयर भएपछि उनले कार्यवाहक अध्यक्ष रमेश बस्नेतलाई  दिएका थिए । बस्नेतलाई पनि छ महिना भित्रमा अधिवेशन गराइसक्नु पर्ने कार्यभार थियो । तर माओवादीसँग एकता भएपछि उनी पनि अध्यक्षबाट हटेका थिए । पार्टी एकता हुँदा माओवादीबाट योगेन्द्र मण्डल पप्पु अध्यक्ष भएका थिए ।

एमाले र माओवादी विभाजन भएपछि बस्नेत अध्यक्ष भएका थिए । प्रतिनिधि सभा विघटनको मुद्दाले एमाले देखिएको विवादसँगै बस्नेत माधव नेपाल पक्षमा लागेपछि अध्यक्ष केपी शर्मा ओली समूहले रेवती रमण भण्डारीलाई पुन: अध्यक्ष बनाएको थियो । भण्डारीलाई अध्यक्ष बनाइएपछि जिल्लामा दुई वटा कमिटी सक्रिय थिए । दुवैले समानान्तर गतिविधि गरिरहेका बेला भएको १० बुँदे सहमतिसँगै बस्नेत एमालेमै फर्किएपछि विवाद थप बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *