प्रधान न्यायाधीश प्रवेश गर्ने वैकल्पिक बाटो पनि ब्लक !

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिँदैछ । बारले बिहान १० बजे अघिदेखि १२ बजेसम्म सर्वोच्च अदालतमा धर्ना दिन लागेको हो ।

जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको नेपाल बारले गत शुक्रबार गेटमै धर्ना दिएर जबराको प्रवेश रोक्ने प्रयास गरेको थियो । तर जबरा अर्को वैकल्पिक गेटबाट सर्वोच्च छिरेका थिए ।

तर आज जबरा छिर्ने वैकल्पिक गेटमा पनि अवरोध गरिने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् । ‘सकेसम्म सर्वोच्च अदालतभित्रै छिरेर गेटमा धर्ना दिन्छौँ । गत शुक्रबारजस्तै प्रहरी खटाएर भित्र जान रोके भने बाहिरै धर्नालाई जारी राख्छौँ,’ उनले भने, ‘शुक्रबार प्रधान न्यायाधीश प्रवेश गरेको वैकल्पिक गेटमा पनि अवरोध गर्छौ ।’

सर्वोच्च अदालत भवन र नेपाल बार एसोसिएसन भवनबीच सानो गेट छ । सर्वोच्च अदालत प्रवेश गर्न कानुन व्यवसायीले प्रयोग गर्ने उक्त गेटलाई शुक्रबार सर्वोच्च प्रशासनले बन्द गरिदिएको थियो । जसका कारण कानून व्यवसायी सर्वोच्चमा छिर्न पाएनन् र उनीहरू मुख्य गेटमा पुगेर विरोध प्रदर्शन जारी राखे । बार अध्यक्ष श्रेष्ठले उक्त गेट खोल्न शुक्रबार नै सर्वोच्च प्रशासनलाई भनिसकेको र आइतबार पनि बन्द गरिए सडकबाटै मुख्य गेटमा धर्ना दिने बताए ।

सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले पनि बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने प्रवेशद्वारमै धर्ना दिइने बताए । नेपाल बारले यही कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । सर्वोच्च अदालतका २० मध्ये प्रधानन्यायाधीशबाहेक १९ जना न्यायाधीशले पनि जबराको राजीनामा माग गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *