योगेश सिन्दे, जो बाँसले प्लाष्टिक विस्थापन गर्दैछन्

काठमाडौँ । भारतका योगेश सिन्देले एक मिलियन टन प्लाष्टिक प्रयोगबाट वातावरणलाई बचाएका छन् । कसरी ? बाँसको वस्तुहरू उत्पादनद्वारा । बाँसलाई चमत्कारी वनस्पति पनि भन्ने गरिएको छ किनभने बाँसको प्रयोग धेरै कामका लागि गर्न सकिन्छ । हो, यही बाँसलाई योगेशले प्लाष्टिक प्रतिस्थापन गर्न प्रयोग गरिरहेका छन् ।

इनफर्मेशन टेक्नोलोजी अध्ययन गरी त्यही क्षेत्रमा काम गर्ने क्रममा योगेशले विश्वका धेरै देशहरू घुम्ने मौका पाएका थिए । त्यसै क्रममा उनी जर्मनीमा ५ वर्षसम्म बसेका थिए । त्यहाँ उनले जति पनि किसानहरू छन् उनीहरू आफ्नो कामबाट सन्तुष्ट रहेको पाए । उनीहरू कृषि पेसाबाटै आफ्नो जीवनमा रमाइरहेका थिए । योगेश भन्छन्, ‘मलाई त्यहाँको खुशी र सुखी जीवनशैली देखेर लाग्यो की के हाम्रो देशका किसान पनि यसको लायक छैनन् त ?’

जर्मनीबाट प्रेरणा लिएर उनी त्यहाँको जागिर छोडेर कृषि फार्म खोल्ने उद्देश्यले भारत फर्किए । उनलाई भारतमा निकै गाह्रो भयो किनभने उनी व्यापारी वा कृषकको परिवारमा हुर्किएका थिएनन् । उनलाई कृषि फाम सम्बन्धी कुनै ज्ञान थिएन । त्यसपछि उनले इन्टरनेटको सहयोग लिने निधो गरे ।

इन्टरनेटको माध्यमबाट उनले भारतका कृषि क्षेत्र र किसानहरूबारे खोज गरी उनीहरूसँग निरन्तर अन्तर्कृया गरे । धेरै रिसर्च गरेपछि उनले बाँस सम्बन्धी फार्म खोल्ने निधो गरे । बाँसले किसानलाई पनि काम दिन्थ्यो र वातावरणमैत्री पनि थियो ।

योगेश भन्छन्,‘ हाम्रा किसानलाई बाँसको बारेमा थियो, त्यसको प्रयोगको बारेमा थाहा थियो त्यसैले मैले बाँसलाई कसरी एउटा वस्तु उत्पादन गर्न सकिन्छ त्यो बिचको कनेक्सनको मात्र काम गर्नुपर्ने थियो ।’ त्यसैले उनले ‘ब्याम्बो इन्डिया’ नामको एक कम्पनी दर्ता गरे । उनको कम्पनीको पहिलो उत्पादन बाँसको दाँत माझ्ने ब्रस थियो ।

यसको उद्धेश्य प्लाष्टिकको ब्रसलाई प्रतिस्थापन गर्नु थियो । योगेशले किसानद्वारा उत्पादित बस्तुको नाफा सिधै किसानको खातामा जाने व्यवस्था मिलाएका छन् । सुरुमा ४ जना किसानको सहायताले सुरु गरिएको ‘ब्याम्बो इन्डिया’मा अहिले २ हजारभन्दा बढी किसान जोडिइसकेका छन् ।

सुरुका दिनमा ‘ब्याम्बो इन्डिया’ लाई एक हप्तामा सय ब्रस बेच्न पनि गाह्रो थियो । अहिले कम्पनीले दैनिक ५० हजार ब्रस बिक्री गर्छ । ब्रससँगै कम्पनीले कान सफा गर्ने, स्पीकर, स्ट्र, काइँयो लगायतका सामान बनाइरहेका छन् ।  कम्पनीले आफ्नो वेबसाइटमार्फत् अनलाइन खरिदको पनि व्यवस्था मिलाएको छ ।

योगेशको कम्पनीले उत्पादन गरेको सामग्रीले अहिलेसम्म एक मिलियन टन प्लाष्टिक विस्थापन गरिसकेको छ । जल प्राणीको लागि सबैभन्दा घातक मानिएको प्लाष्टिकलाई विस्थापन गर्न योगेशले चालेको यो कदमको पुरै भारतले प्रशंसा गरेको छ । उनले वातावरणमैत्री उत्पादन त गरेका छन् नै त्यो सँगै किसानको मेहनतको फल किसानलाई नै दिने काम समेत गरेका छन् । जसले गर्दा पूरा भारतले उनको उत्पादन मन पराउँछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *