गोरखालाई टुक्र्याएर दुई जिल्ला बनाउनुपर्छ : अध्यक्ष भट्टराई

पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गोरखालाई दुई जिल्ला बनाउनुपर्ने प्रस्ताव गरेका छन् । संगठन सुदृढीकरण तथा जन भेटघाट अभियान अन्तर्गत लाप्राक पुगेका उनले धार्चे र चुमनुब्रीलाई समेटेर छुट्टै जिल्ला घोषणा गर्नुपर्ने बताएका हुन् ।

‘गोरखामा एउटै भेगलाई दुई जिल्ला बनाउन पहल गर्नुपर्छ । यसका लागि संविधानमा कुनै व्यवधान छैन । संविधानमा विशेष क्षेत्र बनाउन सक्ने भनिएको छ । स्वायत्त क्षेत्र भन्ने व्यवस्था छ,’ उनले भने, ‘जिल्ला, स्वायत्त क्षेत्र वा विशेष क्षेत्रको रूपमा बनाउनुपर्छ । जनताले बुझ्ने भनेको चाहिँ जिल्ला नै बनाएर गर्ने हो । धार्चे र चुमनुब्री, बारपाकको केही क्षेत्र समेट्न सकिन्छ ।’

उनले यी क्षेत्रहरू गुरुङ बाहुल्य भएकोले छुट्टै बनाउनुपर्ने बताए । ‘सत्ता आफ्नो हातमा नभएसम्म, आफ्ना जनप्रतिनिधिले नसुनेसम्म जति चिच्याएर कराए पनि विकास पाउनुहुन्न । सबै पार्टीका साथीहरू एक ठाउँमा रहनुपर्छ । संघीयता मिलेको छैन । पहिचान सहितको संघीयता हुनुपर्छ,’ भट्टराई भन्छन्, ‘हामी सबैले संघर्ष गर्‍यौँ भने सम्भव छ ।’

उनले गोरखाको उत्तरी भेग पिछडिएकोले छुट्टै जिल्ला बनाए मात्रै विकास हुने तर्क गरे । ‘बाटोघाटो राम्रो छैन । हिँडेर आउन दिनभरि लाग्छ । रणनीतिक मार्गहरू बाह्रै महिना चल्ने हुनुपर्‍यो नि,’ उनले थपे, ‘भौतिक पूर्वाधार मन्त्री हिसिला भएपछि १२ किलोदेखि बारपाक लाप्राक बाटोमा काम भएको थियो । त्यसपछि अहिलेसम्म जस्ताको तस्तै छ । प्रधानमन्त्री भएपछि बारपाकदेखि लाप्राक जोड्ने सडकमा १ करोड हालेको थिएँ । यो माछिखोलासम्म जोड्नुपर्छ ।’ उनले संघीयता संशोधन गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *