कोट लगाएर बाबुरामले धान झाँटे, जुत्ता लगाएर हिसिला कोदो केलाउँदै

पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई सङ्गठन सुदृढीकरण तथा जन भेटघाटका लागि गोरखाका गाउँगाउँ पुगिरहेका छन् । गण्डकी गाउँपालिकाबाट छिरेका उनी करिब सबैजसो गाउँमा पुग्ने कार्यक्रम छ ।

भट्टराई गाउँ डुल्दा लौरी टेकेर उकाली चढेको फोटो अहिले चर्चित छ । उनको तस्बिरले भट्टराईलाई चर्चित मात्रै बनाएको छैन, सत्तामा हुँदा गरेका कामबारे पनि नागरिकहरूले समीक्षा गरेका छन् । उनले पोस्ट गरेका तस्बिरमा केही घतलाग्दा र आलोचनात्मक कमेन्ट गरिएका छन् । ‘सुज नहुनेलाई सुज अभियान गर्नुस् महोदय । बराल्दै बरालिँदै हिँड्ने समय हैन,’ कृष्ण रिमालले लेखेका छन्, ‘नेपाली बनेर गर्वले नेपाली भनेर हिँड्ने वातावरण को सृजना तिर लाग्नुस् । जोड्न तिर लाग्नु फोड्न होइन ।’

गोरखाको आधाभन्दा बढी भूगोलमा अहिलेसम्म सडक पुगेको छैन । चुमनुब्री गाउँपालिका सडक सञ्जालले नछोएको पालिका हो । अहिले भट्टराई आरुघाट र चुमनुब्री तिर छन् । केहीले उनलाई राम्रो अभियान भनेपनि धेरैले आलोचना र विरोध गरेका छन् । ‘यो मानिस गरिबको झुपडी र दिनचर्या हेर्न लठ्ठी टेकेर उकालो लागेको भने पक्कै होइन । वर्षैपिच्छे पार्टी फेर्दै, जनता भड्काउँदै हिँडिरहेका भारतीय दलालहरूको राजनीति भविष्य केपी ओलीले चौपट पारिदिएपछि आगामी चुनावमा फेरी सर्वसाधारणलाई झुकाउन यसरी नाटक रच्न थालेका हुन्,’ गणेश थापाले कमेन्ट गरेका छन् ।

सोही क्रममा भट्टराईले फेसबुक पेजमा धान झारेको र उनकी पत्नी हिसिला यामीले कोदो केलाउँदै गरेको तस्बिर सार्वजनिक गरेका छन् । कहिले स्थानीयसँग घुलमिल हुन खेतबारीमै काम गरेजस्तो तस्बिर सामाजिक सञ्जालमा पोस्ट भएका छन् । केही तस्बिरहरू राम्रो देखिएपनि अस्वाभाविक जस्तो छन् । उनले पोस्ट गरेको तस्बिरमा कोट लगाएर धान झार्दै गरेको देखिन्छ भने यामीले जुत्ता लगाएर कोदो केलाउँदै गरेको देखिन्छ । भेटघाटका क्रममा भट्टराईले देशको वर्तमान राजनीतिक अवस्थाको बारेमा भन्दै हिँडेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *