पौडेलको प्रस्ताव- ‘तीन तहको चुनावपछि पार्टीलाई जिताएर बिदा हुन्छु’

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहका सभापतिका आकांंक्षीहरूलाई आफूलाई सघाउन आग्रह गरेका छन् । मंसिर १४ गतेदेखि २७ गतेसम्म काठमाडौँमा चल्ने १४औँ महाधिवेशनमा आफूलाई सघाउन आग्रह गर्दै पौडेलले भनेका छन्, ‘तीन तहको चुनाव सकिएपछि बिदा लिन्छु ।’

छलफलमा सहभागी नेता गगनकुमार थापाकाअनुसार नेता पौडेलले छलफलका क्रममा यस्तो प्रस्ताव अघि सारेका हुन् । पौडेल समूहबाट महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको दाबेदार छन् ।

यद्यपि समूहले साझा उम्मेदवार टुङ्ग्याउन भने सकेको छैन । ‘कि तपाईंहरू नेतृत्वको विषयमा सहमति गर्नुस्,’ नेता पौडेलले भने, ‘नत्र म सबैलाई संयोजन गर्न सक्छु । मलाई नेतृत्वमा सबैले अगाडि सार्नुस् । म पूरा कार्यकाल सभापति बन्दिनँ । तीन तहको निर्वाचनमा पार्टीलाई जिताएर बिदा हुन्छु । त्यसपछि तपाईँहरुलाई नै छोड्छु ।’

समूहका नेता प्रकाशमान सिंह भने बैठकमा गएनन् । उनी आफैँ अगाडि बढ्ने तयारीमा छन् । यसअघि नै सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका नेता सिंहले अबको कांग्रेस नेतृत्वमा आफैँ पुग्नुपर्ने दोहोर्‍याउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *