चीन : सीलाई आजीवन शक्तिमा रहन सहज हुने ‘ऐतिहासिक प्रस्ताव’ पारित

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई राजनीतिक इतिहासमा स्थापित गर्नेगरी चिनियाँ कम्युनिष्ट पार्टीले ‘ऐतिहासिक प्रस्ताव’ पारित गरेको छ । पार्टीको सय वर्ष लामो इतिहासको सारांशको रुपमा रहेको उक्त दस्तावेजमा पार्टीका महत्वपूर्ण उपलब्धि र भावी दिशाका विषयहरूलाई सम्बोधन गरिएको छ ।
पार्टीको स्थापना कालदेखि यस्तो प्रस्ताव पारित भएको यो तेस्रो पटक हो । पहिलो पटक सन् १९४५ मा माओ त्से तुङ र दोस्रो पटक सन् १९८१ मा दङ सिओपिङले यस्तो प्रस्ताव पारित गरेका थिए ।
बिहीबार चीनको राजनीतिक बैठकको छैठौँ पूर्ण सत्रमा उक्त दस्तावेज पारित गरिएको हो । यो कार्यले सीलाई पार्टीका संस्थापक माओ र उनका उत्तराधिकारी दङसँग बराबरीको हैसियत प्रदान गर्नेतर्फ लक्षित गरिएको अनुमान छ । चार दिनसम्म चलेको पार्टी बैठकमा १९औँ केन्द्रीय कमिटीका पूर्ण र वैकल्पिक गरी ३ सय ७० भन्दा बढी नेता भेला भएका थिए ।
नेसनल कङ्ग्रेस बैठकमा भने सीले ऐतिहासिक रुपमा राष्ट्रपति पदमा तेस्रो कार्यकालको माग राख्ने अपेक्षा गरिएको छ । सन् २०१८ मा चीनले राष्ट्रपतिका लागि दुई कार्यकालको व्यवस्था खारेज गरेको थियो‚ जसले सीलाई आजीवन शक्तिमा रहने बाटो खोलिदिएको छ ।
बिबिसीबाट








