म्यानमारको अदालतले अमेरिकी पत्रकारलाई सुनायो ११ वर्षको जेल सजाय

अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यानमारको अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ । ड्यानी मे महिनामा याङ्गुन अन्तरराष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।
ड्यानीलाई अध्यागमन कानुन उल्लङ्घन, गैरकानुनी संगत र सेनाविरुद्ध असहमतिजस्ता कार्यलाई उल्लेख गरी दोषी ठहर गरिएको बिबिसीले जनाएको छ । उनलाई यस हप्ताको सुरुमा देशद्रोह र आतंकवादको थप दुईवटा आरोप लागेको थियो ।
जसमा आजीवन कारावासको सजायसमेतको सम्भावना रहेको छ । थप नयाँ आरोपमा नोभेम्बर १६ मा सुनुवाइ सुरु हुनेछ । ३७ वर्षीय ड्यानी अनलाइन साइट फ्रन्टियरका प्रबन्ध सम्पादकका रुपमा कार्यरत थिए । म्यानमारमा फेब्रुअरीमा भएको सैनिक विद्रोहपछि हिरासतमा परेका दर्जनौँ स्थानीय पत्रकारमध्ये उनी पनि एक हुन् ।
फ्रन्टियरका अनुसार ड्यानीले एक स्वतन्त्र समाचार साइटबाट सैन्य ‘कू’को आलोचना गरिरहेका थिए । फ्रन्टियरले भने ड्यानीलाई दोषी ठहराउने कुनै आधार नभएको दाबी गर्दै आएको छ ।
अमेरिकाले भने ड्यानीलाई रिहा गर्न सैन्य सरकारलाई दबाब दिएको छ‚ तर एक सैन्य प्रवक्ताले उनलाई हिरासतमै राख्नुपर्ने कुरामा जोड दिएका छन् । सजाय सुनाउनुअघि एक विज्ञप्तिमा अमेरिकी राज्य विभागले टिप्पणी गरेको थियो । उक्त टिप्पणीमा ड्यानीलाई गरिएको अन्यायपूर्ण व्यवहार विश्वले देख्ने भन्दै उनलाई रिहा गर्न माग गरिएको थियो । क्राइसिस ग्रुप म्यानमारका वरिष्ठ सल्लाहकार रिचर्ड हर्सेले उक्त सजायलाई अपमानजनक भनेर व्याख्या गरेका छन् ।
उनले यसले अन्तरराष्ट्रिय पत्रकारहरुलाई मात्र नभई म्यानमारका पत्रकारहरूलाई पनि परिस्थितिको तथ्यगत रुपमा रिपोर्टिङ गर्दा उनीहरूलाई धेरै वर्ष जेल सजाय हुने रहेछ भन्ने सन्देश गएको बताएका छन् ।
म्यानमारमा सैन्य कूपछि हालसम्म ८० स्थानीय पत्रकारलाई हिरासतमा लिइएको बताइएको छ । एसिस्टेन्स एसोसिएसन अफ पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार तीमध्ये ५० जना अझै हिरासतमा छन् र आधामाथि मुद्दा चलाइएको छ ।








