पेट्रोलको भाउ बढ्दा विद्यार्थीको नारा जुलुस र प्रधानमन्त्रीको पुत्ला दहन

पोखरा । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि देशभर आलोचना र विरोध भइरहेको छ । एमाले समर्थित विद्यार्थी संगठनहरूले पोखरामा विरोध प्रदर्शनसहित प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।
बिहीबार पृथ्वीनारायण क्याम्पस गेटमा उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका हुन् । उनीहरूले मूल्यवृद्धि, मन्त्रीहरूको विवादित अभिव्यक्ति र अन्य महङ्गीको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।
‘दिनैपिच्छे मूल्य बढेको छ । पेट्रोलियम पदार्थमा यति चर्को मूल्य पुगिसक्यो । सर्वसाधारणले कसरी दैनिकी चलाउने ?’ अनेरास्ववियू गण्डकी संयोजक प्रकाश पौडेलले भीडलाई सम्बोधन गर्दै भने, ‘सरकारले जनताको मर्का बुझेन । कुर्ची र सत्तामै रमायो ।’
अनेरास्ववियूले मुल्यवृद्धि फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । पुत्ला जलाउँदा केहीबेर प्रहरीसँग धकेलाधकेल चलेको थियो ।








