बार भन्छ- ‘प्रधान न्यायाधीशकै निर्देशनमा पदाधिकारीहरूमाथि आक्रमण भयो’

काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराकै निर्देशनमा आफ्ना पदाधिकारीहरूमाथि आक्रमण भएको ठहर गरेको छ । नेबाएका महासचिव पाैडेलले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रधान न्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहरूको प्रयोग गरी ०४६ सालमा पञ्चायतको अन्त हुँदाताका प्रतिकार समिति गठन गरी लोकतन्त्रप्रेमी, न्यायप्रेमी जनताविरुद्ध प्रयोग गरेकै शैलीमा विभिन्न हतकण्डाहरू गरिआएको र आजको शान्तिपूर्ण विरोध सभामा प्रधान न्यायाधीशको ठाडो आदेशमा हतियारसहितका सुरक्षाकर्मीहरू अदालतभित्रै प्रवेश गराइ शान्तिपूर्ण कार्यक्रममा रहेका कानून व्यवसायीमाथि अत्याधिक बल प्रयोग र हातपात गरेको छ ।’
आज प्रदर्शन गर्ने क्रममा बारका पदाधिकारीहरूसँग प्रहरीको ठेलमठेलै चलेको थियो । उक्त ठेलमठेलामा परी बार ५ पदाधिकारीहरू घाइते भएकोसमेत बारले जनाएको छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार बारका पूर्वउपाध्यक्ष एवम् वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य, उपाध्यक्ष एवम् अधिवक्ता रक्षा वस्याल, महासचिव एवम् अधिवक्ता लीलामणि पौडेल, पूर्व केन्द्रीय सदस्य रमणकुमार कर्ण, अधिवक्ता मुकुन्द भट्टराईलगायतका कानून व्यवसायीहरू घाइते भएका छन् ।
बारले आफ्नै अदालत र कानून व्यवसायीबाट मात्र नभएर आम नागरिकबाटै बहिष्कृत हुनसक्नेतर्फ प्रधान न्यायाधीशकाे ध्यानाकर्षण गराएकाे छ । ‘प्रधान न्यायाधीशको विरोधमा नेपाल बार एशोसिएशन र आबद्ध सम्पूर्ण एकाइहरूले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिइन्छ,’ विज्ञप्तिमा भनिएकाे छ ।
बार एशोसिएशनले शुक्रबार सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहसपैरवी नगर्ने, बेन्च बहिष्कार गर्ने र न्यायाधीशलाई समेत प्रधान न्यायाधीशले तोक्ने वा तोकेका इजलासमा नबस्न अपिल गरेको छ ।








