नेपाली पाठकलाई पाउलो कोएलोको भिडियो सन्देश

काठमाडौँ। विश्वप्रसिद्ध ब्राजिलियन लेखक पाउलो कोएलोले आफ्नो कृति हिप्पीका नेपाली पाठकलाई भिडियो सन्देश पठाएका छन्। प्रकाशक फाइनप्रिन्टले हिप्पीको नेपाली अनुवाद सार्वजनिक गरेको सन्दर्भमा उनले उक्त सन्देश पठाएका हुन्।

पाउलोले भिडियोको सुरुवातमा भनेका छन्, ‘यो दृश्य सामग्री नेपाली साथीहरूका लागि हो। म र मेरा कृतिलाई माया गरिदिएकामा तपाईँहरूलाई धेरै धेरै धन्यवाद।’ पाउलोलाई अति मन पराउने लेखक बुद्धिसागरलाई समेत उनले सम्झिएका छन्।

विश्वविख्यात लेखक पाउलोको पुस्तक अङ्ग्रेजीमा पढ्न नसक्नेहरूका लागि हिप्पीको यो अनुवाद उपयोगी हुने लेखक बुद्धिसागरले बताए। ‘अन्तर्राष्ट्रिय पुस्तक आफ्नै भाषामा पढ्न पाउनु नेपाली पाठकका लागि खुसीको विषय हो,’ उनले भने। हिप्पीको नेपाली संस्करण फाइनप्रिन्टले प्रकाशन गरेको हो। जीवनको गहिरो अर्थ खोज्न यात्रामा निस्किएको पाउलो नाम गरेका ब्राजिलियन केटाको कथा हो— हिप्पी।

बोके दारी र लामो दारी पालेको पाउलोले याम्स्टड्र्याममा कार्ला नामकी डच युवतीलाई भेट्छन्, जो हिप्पी ट्रेल पछ्याउँदै काठमाडौँ जानका लागि साथी खोजिरहेकी हुन्छन्। उनीसँगै पाउलो काठमाडौँका लागि हिँड्छन्, म्याजिक बस चढेर। अनि सुरु हुन्छ, उनीहरूको जीवन परिवर्तन गर्ने प्रेमकथा। हिप्पीको नेपाली अनुवाद लेखक सुरेश बडालले गरेका हुन्। विश्वव्यापी रूपमा ६ करोड ५० लाख प्रति बिक्री भएको र ८० भन्दा बढी भाषामा अनूदित भएको द अल्केमिस्टका लेखक हुन्, कोएलो।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *