बढ्दो दीपावली क्रेज : दर्जन देशमा बिदा

काठमाडौँ । बत्तिको झिलिमिलीसँग जोडिने दीपावलीको क्रेज विश्वभरि बढ्दो छ । खासगरी तिहारको लक्ष्मी पूजापछि हुने दीपावलीको क्रेज झन् झन् बढिरहेको यसैपटकको तिहारमा पनि देखियो । सामाजिक सञ्जाल र इन्टरनेटका कारण यो उज्यालो उत्सवको क्रेज बढ्दै गएको पाइन्छ ।
दीपावलीलाई भारत र भारतीय डायस्पोरामा दिवाली भन्ने चलन छ । त्यसैकारण विश्वका धेरै देशमा दीपावलीलाई नै ‘दिवाली’ भन्ने गरेको पाइन्छ ।
खासगरी अमेरिकाका राष्ट्रपतिमा बाराक ओबामा चुनिएपछि दीपावलीले राम्रो चर्चा पायो ।
ओबामाले आफ्नो कार्यकालभरि दिपावलीको लिखित तथा भिडिओ शुभकामना दिइरहे । सन् २००९ देखि २०१७ सम्मको आफ्नो कार्यकालमा ओबामाले दीपावलीलाई ‘ब्रान्ड’झैँ बनाइदिए ।

उनीपछिका राष्ट्रपति ट्रम्पले पनि यो प्रचलनलाई निरन्तरमा दिए । रङ्गोली बनाएर यसलाई उत्सव झैँ मनाउन ट्रम्प सक्रीय भए । अझै पनि धेरै भिडिओ‚ सामाजिक संजालमा हेर्न सकिन्छ ।
![]()
यस वर्ष पनि हालका राष्ट्रपति जो बाइडेन आफैँले दीपावली मनाएको तस्बिर श्रीमतिसँगै राखेर ट्विटमार्फत शुभकामना दिए ।

यसका साथै अन्तरराष्ट्रिय र बहुर्राष्ट्रिय कम्पनीहरूले पनि दीपावलीको शुभकामना दिने क्रम बढेको छ ।
विश्वकै तेस्रो ठुलो चाड : यी हुन् धेरै दीपावली मान्ने देश
यम पञ्चकको मुख्य दिन दीपावली सबैभन्दा धेरै तामझामसँग मनाउने देश नेपाल र भारत हुन् । तर, यी दुई देशमा मात्रै सीमित छैन दीपावली । श्रीलंका, भुटान, म्यानमार, मलेसिया, सिंगापुर, फिजी, मौरिसस, इन्डोनेसियाको बाली, गुयाना, ट्रिनिडाड एन्ड टोबागो, सुरिनामदेखि हङकङसम्म दीपावली धुमधामले मनाइन्छ । यत्तिमात्रै होइन‚ विश्वका भारतीय तथा नेपालीको डायस्पोरा भएका सबै देशमा दीपावली/दिवाली मनाइन्छ ।
पछिल्लो समयमा बेलायत, थाइल्यान्डलगायतका देशमा समेत दीपावली मनाउनेको संख्या बढेको भारतीय अखबार टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । मेक माई ट्रिपमा देभिका खोस्लाले एक आलेख लेख्दै अस्ट्रेलियामा पनि दीपावली भव्य रुपमा मनाइने उल्लेख गरेकी छन् ।
अमेरिकाबाट प्रकाशित ‘हिन्दुइज्म टुडे’ म्यागाजिनमा सन्थना हरिहरनपुत्रनले लेखेको आलेखअनुसार विश्वको २२ प्रतिशत नागरिकले दीपावली मनाउने गरेका छन् भने १२ देशमा दीपावलीको अवसरमा बिदा दिइन्छ । क्रिसमस र इद उल–फित्रपछिको सबैभन्दा धेरै मनाइने पर्व दीपावली हो । विश्वका १ अर्ब २० करोड मानिसले दीपावली मनाउने आलेखमा उल्लेख छ ।
पछिल्लो समयमा अमेरिकामा पनि दीपावलीको अवसरमा औपचारिक बिदाको माग भइरहेको छ । धेरै नागरिकको पर्व भएकाले बिदा आवश्यक भएको सन्थनाले लेखमार्फत उल्लेख गरेकी छन् ।
किन विश्वभर लोकप्रिय भयो दीपावाली ?
असत्यमाथि सत्यको जित‚ अन्धकारमाथि उज्यालोको जित र अज्ञानतामाथि ज्ञानको जितको रुपमा दीपावलीलाई मानिन्छ । प्रकाशको पर्व भएकाले यसले धेरैको ध्यान खिच्छ । यसका साथै रङ्गोलीका विभिन्न कलात्मक चित्र बनाइने भएकाले पनि यसको आकर्षण झनै बढेको छ ।
इन्टरनेटदेखि समाजिक सञ्जालको व्यापक विकासले विश्वको एक कुनाको कुरा अर्को कुनामा पुग्न सहज छ । तत्काल घटनाहरूको जानकारी हुन्छ । यस्तो सहजताले गर्दा पर्व मनाउन इच्छुकहरूले तत्कालै जानकारी लिएर मनाउने गरेका छन् । पटका र आतिशबाजी पनि दीपावलीसँगै जोडिएका प्रचलनका रुपमा रहेका छन् । यसले पनि धेरैलाई आकर्षित गर्ने गरेको छ ।

नेसनल जियोग्राफिक च्यानलका अनुसार भारतको सबैभन्दा लोकप्रिय पर्व नै दीपावली हो ।
त्यहाँ दीपावली मनाउन सबै उमेर समूहका नागरिक सक्रिय हुने गरेका छन् । उनीहरूको खुसी दीपावलीमा पोखिन्छ ।
नेसनल जियोग्राफिक च्यानलको अनलाइन संस्करणमा एमी म्याकिभरले लेखेअनुसार दीपावली हिन्दुको मात्रै नभएर शिख, जैन र बौद्ध धर्मावलम्बीको समेत पर्व हो । विभिन्न आस्थावान नागरिकको पर्व भएकाले यसको उत्पत्तिका बारेमा समेत एकरुपता नभएको लेखमा उल्लेख छ ।
उनले ‘थ्यांङ्क गिभिङ’ र ‘क्रिसमस’पछिको अमेरिकाको सबैभन्दा ठूलो पर्व दीपावली भएको उल्लेख गरेकी छन् । विश्वका एक अर्बभन्दा धेरै नागरिकको साझा पर्व भएकाले यो पर्व ठूलो भएको उनको कथन छ । भारतीय डायस्पोराको कारण दीपावली विश्वभर फैलिएको लेखमा दाबी गरिएको छ ।
संस्कृत शब्द दीपावली अप्रभंश भएर बनेको दिवालीको रुपमा भारतीय र भारतीय डायस्पोराले यो पर्व मनाउँछन् । तर, नेपालीले भने दीपावली नै भनेर मनाउँदै आएको कुरा भने उनले लेखमा कतै उल्लेख गरेकी छैनन् । प्रतिशतका आधारमा भारतमा भन्दा धेरै हिन्दु र दीपावली मनाउने जनसंख्या भएपनि यसको नेपाली पक्षको बारेमा भने विश्वभर त्यत्ति धेरै चर्चा हुन अझै सकेको छैन ।








