भारतमा प्रधान सेनापति शर्मालाई सम्मान गारत

काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्मालाई भारतीय सेनाको एक टुकडीले सम्मान गारतले स्वागत गरेको छ । भारतको ‘साउथ ब्लक लन’मा भारतीय सेनाले सेनापति शर्मालाई सम्मान गारतले स्वागत गरेको हो ।
प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणमा रहने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । उनलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।
नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाइएको छ ।
नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् ।








