प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज (मंगलबार) बिहान ८ बजे नयाँ दिल्ली प्रस्थान गरेका छन् । यो शर्माको पहिलो भारत भ्रमण हो । प्रधानसेनापति शर्मा ९ सदस्यीय सैनिक टोलीसहित सेनाको जहाजमा भारत गएका नेपाली सेनाले जनाएको छ। प्रधानसेनापति शर्मा सेनाको कासा जहाजबाट भारतको नयाँदिल्ली गएका हुन् ।
भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका गएका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबार बिदाइ सम्मान गारत प्रदान गरेका थियो ।
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । उनलाई बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ । नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।








