साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारतको ‘पद्मश्री’ सम्मान

काठमाडौँ । साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारत सरकारले ‘पद्मश्री पुरस्कार’बाट सम्मान गरेको छ । भारतका राष्ट्रपति रामनाथ कोबिन्दले  सोमबार क्षेत्रीलाई  प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मान गरेका हुन् । भारतको आसाम निवासी नेपाली भाषी साहित्यकार क्षेत्रीलाई शिक्षा र साहित्यमा विशेष योगदान गरेबापत साे पुरस्कार प्रदान गरिएको हो ।

क्षेत्रीको उपन्यास ‘बसाइँ’ बहुचर्चित छ। २०१४ सालमा प्रकाशित उक्त उपन्यास नेपाली पाठ्यक्रममा समेत समावेश छ। उक्त उपन्यास महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पछि  सबैभन्दा धेरै बिक्री भएको पुस्तक हो । उपन्यासले तत्कालीन नेपाली समाजको जर्जर वर्गीय द्वन्द्व र आर्थिक अभावले निम्त्याएको संकटलाई चित्रण गरेको छ।

उपन्यासकार क्षेत्रीसहित १ सय १८ जनाको नाम पद्मश्रीका लागि अघिल्लो वर्ष नै घोषणा भएको थियो । यद्यपि कोरोना महामारी लगायतका कारण सो पुरस्कार यस वर्ष वितरण गरिएको हो । यस्तै यस वर्ष १ सय २ जनाले यो पुरस्कार पाएका छन् । ‘पद्मश्री पुरस्कार’ भारत सरकारले प्रदान गर्ने चौथो ठूलो सम्मान हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *