बैकिङ कसुर मुद्दामा भारतीय नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु नौ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका भारत मोतिहारीका ४५ वर्षीय राजहरण साहलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं ०७७ माघ २६ को फैसलाअनुसार सात दिन कैद र बिगोबमोजिम रु नौ लाख ५० हजार जरिवाना ठहर गरेपछि फरार रहेका साहलाई सोमबार दिउँसो काठमाडौँको कमलपोखरीबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका साहले ग्लोबल आइएमई बैंक लिमिटेडको ज्ञानेश्वरको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।
उच्च अदालतले साहलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो । साहलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालत पेस गरिएको प्रहरी उपरीक्षक थापाले बताए । रासस








