न्युजिल्यान्डमा मृत्यु राेज्न पाउने कानून लागू

एजेन्सी । न्युजिल्यान्डमा इच्छामृत्यु रोज्न पाउने कानून लागू भएको छ । गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशत बहुमतका साथ उक्त कानून पारित भएको हो ।
न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले कडा मापदण्ड बनाउँदै आजदेखि इच्छामृत्युको सेवालाई वैधानिकता दिएको स्टफ न्यूजले जनाएको छ । समाचारअनुसार मृत्युवरणका लागि कम्तीमा १८ वर्ष पूरा हुनुपर्ने विषयलाई पहिलो सर्त राखिएको छ ।
अब न्युजिल्यान्डका कुनै नागरिकलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छामृत्युको विकल्प रोज्न पाउनेछन् । यो प्रक्रियाका लागि कम्तीमा दुई जना चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ ।
इच्छामृत्युको कानून बनेपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ । स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्ग, क्यानडा, अष्ट्रेलिया र कोलम्बियामा पनि इच्छा मृत्युवरण गर्न पाउने कानून छ । न्यजिल्यान्डले उनीहरूको भन्दा फरक मापदण्ड बनाएको छ ।








