सियरा लिओनमा ट्याङ्कर दुर्घटना हुँदा ९८ जनाको मृत्यु

काठमाडौँ । एउटा इन्धन बोकेको ट्याङ्कर अर्को लरीसँग सियरा लिओनको राजधानी फ्रीटाउनमा जुझेर विस्फोट हुँदा मृत्यु हुनेको संख्या ९८ पुगेको छ । आगलागी हुनु अघि इन्धन पोखिएको थियो । त्यसपछि लागेको आगो नजिक रहेका मानिसहरू र सवारी साधनमा सल्किएको थियो ।
स्थानीय मिडियाले प्रकाशित गरेका तस्बिरमा ट्याङ्कर वरिपरि नराम्ररी डढेका शवहरू देखिन्छ । राष्ट्रपति जुलियस मादा बायोले ‘दुखान्तकारी आगलागी र मानिसको ज्यान गएका कारण आफूलाई गहिरो दुख लागेको’ बताएका छन् । ट्वीट गर्दै राष्ट्रपतिले पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।
फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जना जति मानिसको उपचार भइरहेको बताइएको छ । विस्फोट सहरको वेलिंगटन क्षेत्रको व्यस्त चोइथ्राम सुपर मार्केट बाहिरको एक चोकमा शुक्रवार करिब दश बजे भएको बीबीसीले उल्लेख गरेको छ । सियरा लिओनको राष्ट्रिय प्रकोप व्यवस्थापन संस्थाका प्रमुख ब्रिमा बुरेह सेसेले स्थानीय सञ्चार माध्यमसँग भयानक दुर्घटना भएको बताइन् ।
एक लाखभन्दा बढी मानिस बसोबास गर्ने यस बन्दरगाह सहरमा, पछिल्ला वर्षहरूमा निकै गम्भीर प्रकोपहरूको सामना गरेको छ । गत मार्चमा सोही सहरको एउटा बस्तीमा भीषण आगलागी हुँदा ८० जना भन्दा बढी व्यक्ति घाइते भएका थिए । घटना लगत्तै करिब ५ हजार मानिस विस्थापित हुनु परेको थियो ।








