खाद्यान्नको विश्वव्यापी मूल्य १० वर्षकै उच्च

काठमाडाैँ । गत वर्ष ३० प्रतिशतभन्दा बढी वृद्धि भएपछि विश्व खाद्यान्नको मूल्य एक दशकयताकै उच्च विन्दुमा पुगेको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)का अनुसार आपूर्तिमा अवरोध, वस्तुको उच्च मूल्य, कल कारखाना बन्द हुनु र राजनीतिक तनावले मूल्य वृद्धिमा असर पारेको हाे ।
तथ्याङ्कले विश्वभर खाद्यान्न र वनस्पति तेलको मूल्य बढेको देखाउँछ । तरकारीको र तेलको मूल्य अक्टोबरमा करिब १० प्रतिशतले बढेर हालसम्मकै उच्च बनेको हो । एफएओका अनुसार अनाजको मूल्य एक वर्ष अघिको तुलनामा २२ प्रतिशतले बढेको छ।
मूल्य वृद्धिमा गहुँको प्रमुख भूमिका रह्यो । क्यानडा, रुस र अमेरिकाजस्ता प्रमुख निर्यातकर्ता देशहरूमा उब्जनी खराब भएपछि पछिल्लो १२ महिनामा लगभग ४० प्रतिशतले मूल्य बढेको हो । ‘खाद्यान्नको हकमा, हामी यस्तो अवस्थाको सामना गरिरहेका छौँ जहाँ भन्न सकिन्छ कि यो जलवायु परिवर्तनको प्रभाव हो । यसले अन्ततः उत्पादनमा गिरावट ल्याइरहेको छ,’ कर्टिन बिजनेस स्कूलका कृषि व्यवसाय विज्ञ पिटर ब्याटले भने ।
पाम, सोया, सूर्यमुखी र रेपसेड तेलको मूल्यमा भएको वृद्धिले वनस्पति तेलको मूल्य सूचकाङ्कमा वृद्धि एफएओले जनाएको छ । पाम तेलको मामलामा, आप्रवासी कामदारहरूको अभावका कारण मलेसियामा उत्पादन घटेपछि मूल्य बढेको उल्लेख गरिएको छ । श्रमिकहरूको अभावले विश्वका अन्य भागहरूमा पनि खाद्यान्नको उत्पादन र ढुवानी लागत बढाउन योगदान पुर्याएको छ । -बीबीसी








