म्ह पूजामा बालेको दियोले लियो एकै परिवारका चारको ज्यान

काठमाडौँ । शुक्रबार नेवार समुदायको नयाँ वर्ष अर्थात् नेपाल संवत् ११४२ । नेवार समुदायले आजको दिन हर्षोल्लासका साथ नयाँ वर्ष मनाउँछन् । यस दिन नेवार समुदायले म्ह पूजा गर्छन् । म्ह पूजा अर्थात् शरीर पूजा गर्छन् । नेवार समुदायले म्ह पूजा विशेष महत्त्वका साथ मनाउँछन् ।

ललितपुरको मंगलबजारका ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार पनि म्ह पूजा गर्दै थिए । उनीसँगै सपरिवार म्ह पूजामा व्यस्त थियो । घरको दोस्रो तलाको झ्यालमा दियो बालेर तेस्रो तलामा म्ह पूजा गर्दै थिए । तर दियोबाट सल्केको आगाले लक्ष्मीकृष्णसहित परिवारका ४ जनाकाे ज्यान लिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार शुक्रबार साँझ ६ बजेर ४५ मिनेटतिर बालिएको दियो पर्दामा सल्किएपछि आगलागी भएको प्रारम्भिक अनुमान छ । ‘पर्दामा सल्केर आगलागी हुँदा उक्त आगो ग्यास सिलिन्डरसम्म पुग्यो,’ एसएसपी बज्राचार्य भनिन्, ‘सिलिन्डर ग्यास विस्फोट भएपछि परिवारका चार जनाको घटनास्थलमै मृत्यु भयो ।’

यो पनि : ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर विष्फोट, चार जनाको मृत्यु

आगलागीमा परी मृत्यु हुनेमा लक्ष्मीकृष्णसहित उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षीया बुहारी रन्जना र १० वर्षीय नाति निर्जलको मृत्यु छन् । ४२ वर्षीय छोरा नीरज र ३२ वर्षीया कान्छी छोरी सिर्जना घाइते भएका छन् । सिर्जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

भान्छासँगै जोडिएको अर्को घरमा पनि विस्फोटबाट क्षति पुगेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *