कर्णाली र प्रदेश १ मा केन्द्रीय गठबन्धनअनुसारको सरकार बन्दै

काठमाडौँ । प्रदेश नं. १ मा नेकपा (एकीकृत समाजवादी) को नेतृत्वमा नयाँ सरकार बन्दैछ । प्रदेशमा पार्टीको तर्फबाट प्रदेश नं. १ का संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन् ।

राईले मंगलबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । मुख्यमन्त्रीको शपथ ग्रहण गरेसँगै उनले सानो मन्त्रिमण्डलसमेत विस्तार गर्दैछन् । यद्यपि मन्त्रीहरूको टुङ्गा भने लागिसकेको छैन ।

एक माओवादी नेताले बताएअनुसार आजको मन्त्रिमण्डलमा गठबन्धनमा रहेका सबै दलहरूबाट एक/एक जना मन्त्री बन्नेछन् । नेपाली कांग्रेसबाट संसदीय दलका उपनेता हिमाल कार्कीलाई पठाउने लगभग टुङ्गो भएको छ भने माओवादी केन्द्रबाट इन्द्र आङ्बो नै सरकारमा सहभागी हुने बताइएको छ ।

यसअघि सोमबार नै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले सरकार गठन आह्वान गरेलगत्तै गठबन्धनमा आबद्ध दलहरूले नेकपा (एकीकृत समाजवादी) का नेता राईलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए ।

त्यहाँ सोमबार मात्रै मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका थिए । यसपछि गठबन्धनले राईको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकाे थियाे ।

OOO

यस्तै उता कर्णाली प्रदेशमा पनि केन्द्रीय गठबन्धनअनुसारको सरकार बन्दैछ । त्यहाँ नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गठबन्धनको बैठकले गरिसकेको छ ।

कांग्रेसको अगुवाइमा बन्ने सरकारको नेतृत्वको कर्णाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले गर्ने कांग्रेस सांसद अमृता शाहीले बताइन् । ‘उहाँ नै मुख्यमन्त्री बन्दै हुनुहुन्छ,’ सांसद शाहीले मकालुखबरसँग भनिन्, ‘त्यसको प्रक्रिया टुङ्ग्याउने कोसिसमा छौँ ।’

सांसद शाहीकीअनुसार जीवनबहादुर शाहीले मंगलबार नै सरकारको दाबी गर्नेछन् । जसमा २१ जना सांसदहरूले हस्ताक्षर गर्ने उनको दाबी छ । भनिन्— ‘२१ जना माननीयज्यूहरूले हस्ताक्षर गर्ने निश्चित छ । आजै दिउँसो उहाँ (जीवनबहादुर शाही) ले सरकारको नेतृत्वको लागि दाबी पेस गर्नुहुन्छ ।’

सांसद शाहीकाअनुसार त्यहाँ बुधबारसम्ममा सरकार बन्नेछ । सँगै सानो मन्त्रिमण्डलसमेत बन्नेछ ।

तत्कालीन नेकपा फुटेपछि सदनबाट विश्वासको मत लिँदा माओवादीको कोटाबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले ६ महिनापछि कांग्रेसलाई नेतृत्व सुम्पिने लिखित सहमति गरेका थिए । उक्त सहमतिअनुसार महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । यसपछि जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

४० सदस्यीय प्रदेश सभामा अहिले कायम रहेको सांसद संख्या ३५ हो । ३५ मा २१ स्पष्ट बहुमत हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *