सांग्रिला बैंककाे खुद नाफा ७२.७१ प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफामा ७२.७१ प्रतिशतको उछाल आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफामा उल्लेख्य बढोत्तरी भएको हो ।

अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा सांग्रिला बैंकले ३ करोड १५ लाख खुद नाफा आर्जन गरेकोमा त्यो बढेर चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ करोड ४४ लाखको उचाइमा पुगेको हो । बैंकको सञ्चालन मुनाफामा समेत उल्लेख्य बढोत्तरी भएको छ ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा ३ करोड २० लाखमा सीमित यस्तो मुनाफा बढेर समीक्षा अवधिमा ७ करोड ७७ लाखको उचाइ चुमेको हो । यसरी सञ्चालन मुनाफातर्फ बैंकले अघिल्लो वर्षको तुलनामा १४२.६३ प्रतिशतको छलाङ मारेको छ ।

व्यवसाय वृद्धिमा ध्यान दिएका कारण बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । जसअनुसार अघिल्लो वर्षको पहिलो तीन महिनासम्म २६ करोड ६४ लाखमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष ३६ करोड ५० लाखको उचाइमा पुगेको छ । अघिल्लो वर्षसम्म ६५ करोड ९५ लाखमा सीमित रिजर्भको आकार बढेर ७४ करोड ३३ लाख पुगेको छ भने निक्षेप र कर्जातर्फ पनि बैंकको प्रगति भएको छ ।

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म सांग्रिला बैंकले ३२ अर्ब बढी निक्षेप सङ्कलन गरी २६ अर्ब ४१ करोड बढी कर्जा प्रवाह गरेको यो बैंकले समीक्षा अवधिमा ४७ अर्ब ४० करोड निक्षेप सङ्कलन गरी ४१ अर्ब २८ करोड बढी कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा इपीएस ४ रुपैयाँ ८४ पैसामा सीमित रहेको थियो । समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात १.६४ प्रतिशत, कस्ट अफ फन्ड ६.८५ प्रतिशत, सिडी रेसियो ८५.२४ प्रतिशत, बेस रेट ९.३४ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ रु.१३७.२४, पिई रेसियो ४९.७८ गुणा, तरलता अनुपात २१.७२ प्रतिशत र क्यापिटल एडेक्वेसी रेसियो १३.०४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =