राष्ट्रिय सुस्त मनस्थिति कल्याण संघको अध्यक्षमा कायस्थ

काठमाडौँ ।  राष्ट्रिय सुस्त मनस्थिति कल्याण संघको २४ औँ केन्द्रीय सभाले  लम्बोदर कायस्थको अध्यक्षतामा १२ सदस्यीय कार्य समिति सर्वसम्मतिले चयन गरेको छ ।  शनिवार काठमाडौँमा भएको केन्द्रीय सभापछि भएको निर्वाचनमा सर्वसम्मति जुटेको नवनिर्वाचित महासचिव रवीन्द्र केसीले बताएका छन् ।

कायस्थको नेतृत्व रहेको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मल कुमार श्रेष्ठ, महासचिवमा रवीन्द्र केसी कोषाध्यक्षमा उर्गादेवी श्रेष्ठ, सचिवमा अगमकुमार पालिखे र सह कोषाध्यक्षमा विष्णुबहादुर श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा सम्झना श्रेष्ठ,विश्वनाथ ओझा,गोपालप्रसाद निरौला,सपना बादे, राम श्रेष्ठ र निवर्तमान अध्यक्ष मुक्तिनाथ अधिकारी  रहेका छन् । नवनिर्वाचित अध्यक्ष कायस्थले शनिवार नै जिम्मेवारी सम्हाल्दै सुस्त मनस्थितिका नागरिकहरूको कल्याणको विषय राज्यको प्राथमिकतामा पर्न नसकेको बताएका थिए ।

उनले आफ्ना कुराहरू अभिव्यक्त गर्न नसक्ने यो समूहको कल्याणको लागि गैरसरकारी पहल मात्र पर्याप्त नभएको बताए । उनले दिवा विद्यालयको गुणस्तर सुधार गर्नुपर्ने, छात्रवृत्ति रकम बढाउनुपर्ने र विशेष भत्ताको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका निवर्तमान अध्यक्ष मुक्तिनाथ अधिकारीले बौद्धिक अपाङ्गताको क्षेत्रमा थुप्रै सुधारका कार्यक्रम गर्नुपर्ने खाँचो रहेको उल्लेख गरे । उनले संस्थासँग उचित कार्यक्रमहरू रहेको भए पनि दिगो आर्थिक स्रोतको जोहो हुन नसक्दा ती कार्यक्रमहरू सञ्चालन गर्न कठिनाइ भएको बताए ।
उनले आफ्नो कार्यकालमा २०७६ सालमा नेपालमा एसियाली सुस्त मनस्थिति महासंघको २४ औँ सम्मेलन सफलतापूर्वक आयोजना गरी सीमित स्रोत र साधनका बीचमा थालिएका बौद्धिक अपाङ्ग नागरिकहरूको कल्याणका कार्यक्रमप्रति एसियाली राष्ट्रको ध्यानाकर्षण गर्न सफल भएको पनि उल्लेख गरे ।

उनकै कार्यकालमा सुस्त मनस्थिति भएका छात्रछात्राहरूलाई विशेष शिक्षा तथा तालिमको अलावा कृषिमा आधारित पशुपालन कार्यक्रममा प्रोत्साहित गर्न थालिएको टेवा कार्यक्रमलाई एसियाली स्रोत केन्द्र जापानले काओरु स्टार राफ्ट अवार्ड प्रदान गरेको थियो ।

२०४० सालमा स्थापित सुस्त मनस्थिति कल्याण संघले देशका २६ जिल्लाहरूमा ३७ वटा विशेष विद्यालय, श्रोत केन्द्र, जनचेतना,सीप तथा आयमूलक व्यावसायिक कार्यक्रम,तालिम र पारिवारिक परामर्श केन्द्रमार्फत झन्डै १० हजार ५ सय जना बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा पुर्याउदै आएको छ ।

आयोडिनको कमी, अस्वास्थ्यकर बच्चाको जन्म, कुपोषण,चोटपटक, अज्ञानता र गरिबीका कारण नेपालका सुस्त मनस्थिति (बौद्धिक अपाङ्गता) देखा परेको बताइन्छ । शनिवार भएको केन्द्रीय सभाले हाल भइरहेको जनगणनामा बौद्धिक अपाङ्गता भएका नागरिकहरूको यथार्थ विवरण संकलन गर्न सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

शनिवार भएको केन्द्रीय सभाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र बौद्धिक अपाङ्ग सिम्रिका लामाले संयुक्त रूपमा गरेका थिए । आफ्नो समुद्घाटन मन्तव्यमा प्रमुख अतिथि देवकोटाले बौद्धिक अपाङ्गता भएका नागरिकहरूको कल्याण गर्ने संस्थाहरूलाई सरकारले नै नियमित बजेट विनियोजन गरी सहयोग गर्न आवश्यक भएको बताए ।

उनले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले परिवारबाट पाउने पैतृक सम्पत्ति पनि ट्रस्ट बनाएर राखी तिनको कल्याणमा लगाउनु उचित हुने बताए । उनीहरूको अंश अन्य दाजुभाइबाट सुरक्षित गरी सम्बन्धित व्यक्तिले नै उपयोग र उपभोग गर्ने अवस्था सिर्जना गर्न पनि आवश्यक भएको उनले बताए । संस्थाको केन्द्रीय सभाले महासचिवको प्रतिवेदन र भावी कार्यक्रमहरू पनि पारित गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eight =