सोलुखुम्बुमा पहिलोपटक अप्टिकल फाइबर लिङ्क शुरू

विराटनगर । नेपाल टेलिकमले सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिङ्कले जोडेको छ । नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिङ्कबाट जोडेको हो ।

विगत लामो समयको प्रयास पछी ठुलो रकम खर्च गरेर समुन्द्री सतहबाट ३हजार मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेसनलाई १० जी. बि. पी. एस. क्षमतामा फाइबर लिङ्कबाट जोडिएको नेपाल टेलिकम प्रादेशिक कार्यालय विराटनगरले जनाएको छ । उक्त क्षमतालाई आवश्यकता अनुसार सजिलै अपग्रेड पनि गर्न सकिन्छ ।

यसअघि सोलुखुम्बु जिल्ला लगायत वरपरका भेगहरूको सञ्चार सेवा कोलागि उदयपुरको उदयपुर गढीबाट पत्ताले रिपिटर सम्म १.२ जी. बि. पी. एस.क्षमता तथा उदयपुरको चित्रेस्थानबाट डाडाखर्क रिपिटर सम्म ६८० एम. वि. पी. एस. क्षमताको रेडियो लिङ्कबाट मात्र जोडिएको थियो । रेडियो लिङ्कको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समय देखि सेवाग्राहीहरूले भने जति गति तथा गुणस्तरमा टेलिकमका सेवाहरू उपभोग गर्न पाइरहेका थिएनन् ।

अब देखि नयाँ अप्टिकल फाइबर लिङ्क तथा सञ्चालनमा रहेको रेडियो लिङ्कलाई समानान्तर तरीकाले सञ्चालनमा ल्याइने नेपाल टेलिकमले जनाएको छ । कुनै एक लिङ्कमा समस्या भएमा अर्को लिङ्कलाई तुरुन्तै प्रयोग गर्न सकिने हुनाले सेवाको नियमितता तथा गुणस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।

पत्ताले रिपिटरलाई फाइबरबाट लिङ्क गरिसकेपछि उच्च हिमाली भेगहरू सगरमाथा आधार शिविर, खुम्जुंग, नाम्चे, फाप्लु लगायत सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन इन्टरनेट तथा फोर जी सेवाहरूको गुणस्तर अभिवृद्धि तथा लिङ्कबाट ओखलढुङ्गा तथा खोटाङ जिल्लाको पनि धेरै टावरहरूको मोबाइल ट्राफिक रुट गर्न सकिने प्रदेश कार्यालयले जनाएको छ ।

विगत वर्षहरू देखिको सेवाग्राहीहरूको अत्यधिक गुनासो तथा उक्त जिल्लाबाट टेलिफोन सेवाको गुणस्तरको विषयलाई लिएर हुने गरेको टिका टिप्पणीहरुलाई यस अप्टिकल फाइबरको विस्तारसँग सम्बोधन हुने विश्वास टेलिकमको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =