मानिसलाई दुःख दिने डेङ्गीबाट कसरी बच्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा डेङ्गीका बिरामी बढेका छन् । असोज कात्तिकतिरको समय डेङ्गी देखिने समय भएकाले डेङ्गीका बिरामी देखिन थालेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।

गत वर्ष स्क्रब टाइफस र डेङ्गीका बिरामी सधैँ जति नदेखिएको तर यो पछिल्लो समय स्क्रब टाइफस देखिने क्रम बढेको तथा त्यससँगै डेङ्गीका बिरामी पनि भेटिइरहेको उनले बताए । मुख्यतया स्क्रब टाइफस तथा डेङ्गी र फ्लुमध्ये फ्लुको सिजन बिस्तारै सकिँदै गएकाले कम हुँदै गएको डा.पुनले जानकारी दिए ।

स्क्रब टाइफस साउन भदौ देखिनै देखिन थालेको र अझै पनि देखिइरहेको उनले बताए । डेङ्गीको सिजन बल्ल शुरु भएकाले अझै बढ्दै जाने सम्भावना रहेको उनले जानकारी दिए ।

डेङ्गीका लक्षण 
लामखुट्टेको टोकाइबाट हुने डेङ्गीका लक्षणमा एकदमै धेरै ज्वरो आउने आँखाको गेडी दुख्ने, हड्डी भाँचियो कि जस्तै गरी दुख्ने, साना खालका टिकटिक बिबिरा देखिने, वाकवाक लाग्ने लगायत हुन् । यीमध्ये कुनै दुईवटा लक्षण देखिएमा त्यो डेङ्गी हुन सक्ने डा. पुनले बताए ।

बिरामीले निरन्तर बान्ता गरिरहने, पेट असाध्यै दुखिरहने, गिजाहरुबाट रगत देखिने, बेचैन हुने, कलेजोको आकार बढ्ने, पेटमा चेकअप गर्दा कतै पानी जमेको देखिने भएमा गम्भीर अवस्था छ भनेर बुझ्नुपर्छ । यो सबै लक्षण देखा परेमा खतराको अवस्था हुनसक्ने अनुमान लगाउन सकिने र जटिल अवस्थामा, मुटु, मिर्गौला फेल हुने सम्भावना समेत हुन्छ ।

डेङ्गीलाई शुरुमै थाहा पाउन सके यसको मृत्युदर एक प्रतिशतभन्दा पनि धेरै कम रहेको डा पुनले बताए । डेङ्गीको सिजन भएकाले जिउ धेरै दुखेमा डाक्टरलाई जँचाएर मात्र औषधी लिन उनको आग्रह छ । मेडिकलबाट वा नजाँची फेलेक्सन्, ब्रुफिनजस्ता औषधी खानाले रत्तश्राव हुन सक्ने सम्भावना रहने उनको भनाई छ । टाउको दुखेको, ज्वरो आएको अवस्थामा प्यारासिटामोल भने खान सकिने उनले बताए । डेङ्गीले धेरै मानिसको मृत्यु गराउनेभन्दा पनि दुःख भने दिने उनको भनाई छ ।

बच्ने तरिका
कालो सेतो छिरबिरे रङ्गको लामखुट्टे देखियो भने त्यो एडिस जातको लामखुट्टे भनेर बुझ्नुपर्दछ । यो लामखुट्टे प्रशस्त मात्रामै पाइन्छ । यसले बिहान ९, १० बजेतिर र बेलुका ४, ५ बजेतिर अरुबेला भन्दा बढी सक्रिय हुने गरेको पाइएको छ । त्यसकारण यी दुई बेलामा अझ बढी सचेत हुन आवश्यक छ ।

यो फोहोर पानीमा नभई सफा पानीमा बस्छ । त्यसैले घरमा जम्मा गरेर राखेको सफा पानीमा पनि यसको लार्भा हुन सक्ने खतरा रहन्छ । टायर, गमला, ड्रम, प्लास्टिकका बोतल वा पोलिथिन ब्याग, बट्टा आदिमा जमेको पानीमा यो लामखुट्टेको लार्भा हुनसक्छ । त्यसैले घर तथा अफिस वरपर पनि सरसफाइमा ध्यान दिन जरुरी हुन्छ ।

लामखुट्टे बस्न नसक्ने अवस्था बनाउने ।
लक्षणहरू देखिएमा अस्पताल जाने र परीक्षण गराइहाल्ने ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको रिसर्च युनिटका प्रमुख डा. पुनसँग मकालुखबरकर्मी समीक्षा गाहाले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *