विराटनगर-धरान ६ लेन सडक: ८ वर्षमा ८ अर्बको ठेक्का, एउटै काम सकिएन

विराटनगर । छ लेन सडक आयोजना निर्माणको काममा लापरबाही भएको भन्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले चासो दिएका छन् । ५ वर्ष पहिला नै निर्माण पुरा हुनुपर्ने बरगाछि चोकको सडक निर्माणको काम र बुढिगंगा गाउँपालिकामा पर्ने नेमुवा चोक सडकको काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न उनले निर्देशन दिएका हुन् ।

भर्खरै सरुवा भएर आएका दाहालले सडकका केही ठाउँमा ठेकेदारको लापरबाहीका कारण काम नभएको भन्दै तत्काल काम नगरे कारबाही गर्न रानी-विराटनगर-इटहरी-धरान सिक्सलेन सडक आयोजना कार्यालयलाई निर्देशन दिएका हुन् । रानी क्षेत्रको म्याद माघ महिनासम्म रहेपनि अन्य सबै ठेकेदार कम्पनीको म्याद सकिएको छ । म्याद सकिएका निर्माण कम्पनीले पटक पटक म्याद थप गर्ने तर काम नगर्ने क्रम बढेपछि त्यस्ता काम नगर्ने कम्पनीलाई कारबाही गर्ने, ठेक्का तोड्ने, जरिवाना गर्ने र कालोसूचीमा राखेर कारबाही गर्ने गरी काम थालिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

६ लेन सडक अन्तरगत बरगाछिमा साइड विवाद देखिएकोले काम नभएको जानकारीमा आएको प्रजिअ दाहालले बताए । ‘बरगाछि चोक र नेमुवामा पनि समस्या रहेको छ,’ प्रजिअ दाहालले भने, ‘कालोपत्रे भएका सडकहरूमा पनि ठाउँ ठाउँमा भत्किएकोले ड्रोईङ डिजाइनमा भए अनुसार काम नभएको पाइए कारबाही हुन्छ ।’

बरगाछिमा लामो समयसम्म सडक नबन्दा पाएको सास्तीको बारेमा स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई खबर गरेपछि उनले लिखित निवेदन दिन सुझाएका छन् । ‘स्थानीयको निवेदन आएपछि कसरी अघि बढ्ने भन्ने निश्चित हुन्छ,’ उनले भने, ‘हामीले पनि स्थलगत निरीक्षण गरेपछि धेरै नोटिस गरिसकेका छौँ त्यसैको आधारमा तत्काल परियोजनालाई काम अघि बढाउन निर्देशन दिइएको छ।’ रानी-विराटनगर-इटहरी-धरान सिक्सलेन सडक आयोजना प्रमुख बद्री शर्माले बरगाछि चोक र नेमुवा चोकमा समस्या रहेको बताए ।

नेमुवा चोकको प्रहरी चौकी अगाडीको मन्दिरका कारण सडक बिस्तार गर्ने क्रममा चौडाइ भित्र परेकोले सार्न ढिलाइ हुँदा काम पनि ढिलाइ भएको उनको तर्क छ। ‘नेमुवा इलाका प्रहरी कार्यालय अगाडी रहेको मन्दिर जस्तो कुरा भत्काउनु पनि भएन,’ प्रमुख शर्माले भने, ‘दुई वर्षको बिचमा धेरै काम भएको छ, ५० किलोमिटरमा ५० मिटरको कामका कारण गाली खानुपर्ने अवस्था आयो ।

आयोजना प्रमुख शर्माका अनुसार, रानी-विराटनगर-इटहरी-धरान सिक्सलेन सडकको ठेक्का एकै पटक नभएको, टुक्रा टुक्रा ठेक्का हुँदा काम नदेखिएको र समस्या भएको हो । यही लम्बाइमा शुरु भएको जनकपुरमा दुईवटा मात्र ठेक्का सम्झौता भएको थियो भने यहाँ २१ वटा ठेक्का सम्झौता गरिएको छ। २०६९ सालको ठेक्का लागेर शुरु भएका काम अझै सकिएका छैनन् । समयमा नै निर्माण पुरा नगर्ने तथा पटक पटक ठेक्का सम्झौताको म्याद थप गर्ने ३ कम्पनीलाई जरिवाना गरिएको भएपनि उनीहरूले अझै काम सकेका छैनन् । कारबाहीमा परेका, जरिवाना तिरेका ठेकेदार कम्पनीहरूलाई पनि अझै २०७८ चैतसम्म थप गरेको छ ।

सङ्घीय सरकारको आयोजनाले अहिलेसम्म ८ अर्बको ठेक्का सम्झौता गरिसकेको छ भने साँढे ५ अर्ब बराबरको काम भइसकेको परियोजना प्रमुख शर्मा बताउँछन् ।

बोहरा ग्रुप समस्या
विराटनगरमा नाम कहलिएका व्यापारी घराना बोहरा ग्रुपले सञ्चालनमा ल्याएको भूमि कन्स्ट्रक्सनले पेटी ठेक्कामा लिएका सडक तथा नालीको काम अस्तव्यस्त भएको छ। प्रगतिसँगै गुणस्तरका कामहरू नभएको आयोजनाबाट पटक पटक भन्दै आएपनि सो कम्पनीले अटेर गर्दै आएको छ। विराटनगरको बरगाछिदेखि दक्षिण महेन्द्र चोकसम्म, बरगाछि उत्तरको नाली निर्माण, नेमुवा प्रहरी चौकीदेखि बुढिखोलासम्मको सडक, दुहबीदेखि इटहरीसम्मको सडकको सबै पेटी ठेक्का भूमि कन्स्ट्रक्सनले लिएको छ ।

रानी-विराटनगर-इटहरी-धरान सिक्सलेन सडक आयोजना शुरु भएको ८ वर्ष पुरा भएको छ त्यो बेलादेखि नै पेटी ठेकेदारको रूपमा यो कन्स्ट्रक्सन कम्पनीले विभिन्न कारणले विवादित हुँदै आएको छ। यो ८ वर्षको बिचमा भएका काम अहिलेसम्म कुनै पनि ठेकेदारले आयोजना कार्यालयलाई काम बुझाएका छैनन् । यसलाई आयोजनाले काम पुरा नभएको भन्दै आएको छ ।

ठेकेदारको आफ्नै रटान
काम नगरेको भन्दै प्रमुख जिल्ला अधिकारीले भने अनुसारको काम नगर्नेमा गीताञ्जली निर्माण सेवा र भूमि कन्स्ट्रक्सन हुन् । दुवै पेटी ठेकेदार हुन् । गीताञ्जलीले बरगाछिको काम नगरेको आरोप लागेको छ । बरगाछिदेखि कन्चनवारीसम्मको काम यसको जिम्मामा थियो । नालाको काम राम्रो नगरेको तथा काममा गुणस्तर नभएको भन्दै यसअघि भूमि कन्स्ट्रक्सन इन्जिनियर प्रमुख जिल्ला अधिकारीको निर्देशनमा पक्राउ परेका थिए ।

त्यहीँबाट बरगाछिका काम ओझेलमा पर्दै गएको गीताञ्जली निर्माण सेवाका नरेन्द्र कार्की बताउँछन् । सिक्सलेन सडक निर्माणमा मुद्दाहरू धेरै भएको कारण बरगाछिको काम रोकिएको कार्कीले बताए । शुरुमा काम भएको तर, त्यसपछि अख्तियारमा मुद्दा पर्‍यो, कन्ट्याक्टरहरुको भुक्तानी पनि जान छाडेपछि बरगाछिमा समयमा नै काम नभएको कार्कीको दाबी छ । भूमि कन्स्ट्रक्सनले आफ्नो क्षेत्रमा सबैतिर काम पुरा भएको दाबी गर्दै आएको छ। भूमि कन्स्ट्रक्सन सञ्चालक अभिनाश बोहराले धेरै ठाउँको काम पुरा हुने चरणमा रहेको, केही ठाउँमा पिलर ढलान गर्न मात्र बाँकी रहेको दाबी गरे ।

१ नम्बर प्याकेज एसलाल पम्पदेखि बरगाछि चोक नजिकैसम्म, कोशी ग्यासदेखि रेस्मा होटल नजिकसम्मको काम पुरा भएको दाबी उनको छ। विराटनगरमा सबै काम सकिएको र इलाका प्रहरी कार्यालय अगाडी मन्दिर रहेको कारण रोकिएकोमा भित्र मन्दिर निर्माण भइसकेकोले यो पनि २ महिना भित्र पुरा गर्ने उनले बताए। २ नम्बर प्याकेज पनि पुरा भएको दाबी बोहराको छ । दुहबीदेखि अरिहन्त मल्टीसम्मको काम पुरा भएको उनले सुनाए । तेस्रो अरिहन्त देखि खनार र ४ नम्बर प्याकेज खनारदेखि इटहरीसम्मको काम पनि सकिएको र केही काम बाँकी भएको पनि पुरा हुने चरणमा रहेको बोहराले बताए । मैनावतीदेखि दुहबी र खनारदेखि रिलाएन्ससम्मको साइट ओभरले हुन बाँकी रहको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *