निर्वाचनपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ : अध्यक्ष नेपाल 

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचन पछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने बताएका छन् ।  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो पार्टीको पक्षमा जनलहर बढिरहेको भन्दै एमाले आगामी निर्वाचनमा सबैभन्दा पछि पर्ने बताए ।

 ‘हाम्रो पार्टीमा आकर्षण बढिरहेको छ । कति जिल्लामा हाम्रै किल्ला बन्नेछ । सबै जिल्लामा ओलीको पत्तासाफ हुने छ,’ उनले भने, ‘हामीसँग सही विचार र भावना छ । निष्ठा र देशलाई माया गर्ने सङ्कल्प छ । हाम्रो जीत हुन्छ । हामीलाई अहिले तथानाम भन्नेहरूलाई टर्च बालेर खोज्नुपर्छ ।’

उनले एमाले अध्यक्ष केपी ओलीलाई कम्युनिष्ट पार्टी मन नपर्ने भएकोले आफ्नै विधि निर्माण गरेको र त्यहाँ बस्नेको भविष्य नै अन्धकार हुने टिप्पणी गरे । ‘केपी ओलीलाई कम्युनिष्ट पार्टी मन पर्दैन । सिद्धान्त र आदर्श मन पर्दैन । उहाँको आफ्नै नीति र विधि छ,’ नेपालले थपे, ‘त्यहाँ बसेका मान्छेहरू उहाँको निजी कम्पनीको मान्छे हुन बाध्य हुनेछन् । केपी ओलीसँग वफादार हुनेहरू बस्न पाइन्छ, बफादार नभए हरि बिजोग हुन्छ ।’

एकीकृत समाजवादी वास्तविक कम्युनिष्ट पार्टी भएको उनको दाबी छ । ‘पार्टीमा हाम्रो योगदान धेरै छ । कसैले गफ नहाँके हुन्छ । ती गफाडी मात्र हुन् । केही डेलिभरी दिन सक्दैनन् । पार्टीमा पनि दिएका छैनन्, राज्य सत्तामा पनि दिएका छैनन्,’ ओलीतिर ईंगित गर्दै उनले भने, ‘आकाश–पाताल जोड्ने गफाडीहरू पनि धर्तीमा जन्मिँदा रहेछन् ।

 हामी काम पार्टी हौँ। काममा विश्वास गर्छौँ । कम्युनिष्ट पार्टीको विरासत हामीले बोकेका छौँ। पुष्पलालको पार्टीको निरन्तरता हो । मदन भण्डारीको आन्दोलनको निरन्तरता हो ।’ एकीकृत समाजवादी आवश्यकता अनुसार एक्लै चुनाव लड्न पनि तयार रहेको नेपालले बताए । ‘गठबन्धनको आधारमा चुनाव गराउने कुरा गरे गरिन्छ । नगरौँ भने गरिँदैन ।

वामपन्थी मिलौँ भने पनि ठिकै छ । नमिल्ने भने पनि ठिकै छ,’ उनले भने ‘हाम्रो के लाग्छ रु?हामी पनि हेरौँला, कुन ठाउँमा मिल्दा ठिक छ, त्यही गरौँला । नत्र एक्लै चुनाव लड्ने साहस हामीसँग छ । सबै परिस्थितिको सामना गर्न तयार छौँ ।’

उनले तीनै तहको निर्वाचन एकै पटक गर्ने प्रस्ताव अघि सारे ।  ‘चुनावमा खर्च घटाउन तीनै तहको निर्वाचन एकै पटक गर्दा राम्रो होला । मलाई त्यो विचार आएको छ,’ उनी भन्छन्, ‘कानुनले के भन्छ थाहा छैन ।  कानुनविद्हरूसँग सल्लाह गरेर मिल्छ भने एकै पटक चुनाव गर्नु राम्रो हुन्छ ।’ न्यायालयले देशलाई अप्ठ्यारो परेको बेला सही निर्णय गरेको भन्दै त्यसको विरुद्ध एमाले खनिएको बताए । प्रधानन्यायाधीसलाई महाअभियोग लगाउने कुनै योजना नरहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *