कोशी अस्पताललाई बीमा कार्यक्रमको ७ करोड भुक्तानी बाँकी

विराटनगर । कोशी अस्पतालमा बिहानैदेखि चहल पहल थियो । कर्मचारीहरू सरसफाइमै व्यस्त देखिन्थे । कोही बाटो मिलाउनेमा व्यस्त थिए भने कोही स्वागतको तयारीमा थिए । बुधबार बिहानको कोशी अस्पतालको अवस्था हेर्दा लाग्थ्यो‚ त्यहाँ कसैको सवारी हुँदैछ । त्यहीबीचमा एउटा गाडी साइरनसहित हुइकिँदै आयो । त्यहाँ उभिएर बसेका कर्मचारीहरू तयारी अवस्थामा आए ।

अस्पतालको निरीक्षणमा आएका थिए स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा । कोशी अस्पतालको बारेमा जानकारी लिन र निरीक्षण गर्न आएका खतिवडाले अस्पतालमा राम्राभन्दा पनि सुधार गर्नुपर्ने धेरै कुरा देखेँ । अस्पतालको निरीक्षणपछि फर्किँदै गरेको अवस्थामा विराटनगर १२ की सबिता श्रेष्ठले अस्पतालमा बीमा कार्यक्रम निक्कै समस्या भएको गुनासो सुनाइन् ।

पहिला जुनसुकै बीमा कार्यक्रम सञ्चालित अस्पतालबाट सेवा लिने भनिएपनि पछिल्लो समय सरकारी अस्पतालमा मात्र विकास कार्यक्रम संचालित भएको र अन्य अस्पतालमा जाँदा रेफर लिनु पर्दा समस्या भएको उनले बताइन् । बीमा कार्यक्रम संचालित भएका सबै अस्पतालहरूबाट सहज सेवा लिने व्यवस्था मिलाइदिन उनले आग्रह गरिन् ।

अस्पतालको स्तरोन्नतिका लागि कुनै पहल नभएको समेत उनले गुनासो गरिन् । उनीमात्र गुनासो सुनाउनेमा थिइनन्, अर्का एक व्यक्तिले पनि अस्पताल व्यवस्थापनमा ध्यान दिन आग्रह गर्दै थिए ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्ड‍न्ट (मेसु) चुमनलाल दासले स्वास्थ्य बीमा कार्यक्रमको रकम भुक्तानी धेरै बाँकी रहेको बताए । अन्य शीर्षकको रकमबाट पनि भुक्तानी गरेको स्मरण गराउँदै बीमाको रकम नआउँदा समस्या भएको भन्दै उनले मन्त्रीको ध्यानाकर्षण गराए ।

बीमाका बारेमा धेरै समस्या आएकाले रियल टाईम ईन्ट्रीको व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘हामीले औषधिका लागि जसरी हुन्छ अहिले उधारोमा भएपनि व्यवस्थापन गर्दैछौँ, औषधि रोकेका छैनौँ,’ मन्त्री खतिवडालाई जानकारी गराउँदै मेसु दासले भने, ‘तत्काल भुक्तानी हुनुपर्ने ७ करोड रकम उपलब्ध नगराउने हो भने अस्पताल चल्न सक्ने अवस्था छैन ।’ यस्तै अवस्था रहिरहे अबको केही महिनापछि तलब खुवाउनका लागि पनि रकम अभाव हुने उनको भनाइ छ ।

गतवर्षको चैतदेखिकै बीमाको रकम अस्पतालले पाउन नसकेको मेसु दासको भनाइ छ । बीमाका कारण ओभरटाईम, नाईट ड्युटी गर्ने र ल्याब टेक्निसियनका लागि दिइनुपर्ने ओभरटाईमको करिब ७० लाख रुपैयाँ दिन बाँकी रहेको अस्पतालका लेखा अधिकृत राजेन्द्र सुवेदीले बताए । कोशी अस्पतालले औषधि खरिद गरेको करिब २ करोड रकम तिर्न बाँकी रहेको सुवेदीले जानकारी दिए ।

मन्त्री भन्छन्- केही महिनामा सुधार हुन्छ
उपचारका लागि आएका सेवाग्राही र अस्पताल प्रशासनको गुनासो सुनेका मन्त्री खतिवडाले तत्काल अस्पतालमा सुधारका लागि पहल भइरहेको बताए । बीमा कार्यक्रमलाई व्यवस्थित गर्नका लागि मन्त्रालयमा छलफल भइरहेको उनले बताए । अस्पतालमा हुने गरेको भिड व्यवस्थापनका लागि अहिले संरचना निर्माणको काम भइरहेकाले अब ती संरचनाहरूको निर्माण पूरा भएपछि केही रुपमा सहज हुने उल्लेख गरे ।

अस्पतालको विकास हुन नसकेको भन्ने बारेमा पत्रकारले सोधेको जिज्ञासामा कोशी अस्पताल संघीय सरकार माताहतमा नै रहेर चल्ने र त्यहीअनुसारको गुणस्तरीय सेवा प्रदान गर्ने मन्त्री खतिवडाको भनाइ छ । अस्पतालमा केही राणकालीन संरचना रहेकाले ती संरचना भत्काएर नयाँ संरचना निर्माण गर्ने, बिरामीको चापको आधारमा भौतिक पूर्वाधार थप गर्ने उनले बताए । ‘विराटनगर आफैँ सम्पन्न छ,’ मन्त्री खतिवडाले भने, ‘यहाँको जनशक्ति व्यवस्थापन मुख्य समस्या हो, केही महिनाभित्रै परिवर्तन देख्नुहुनेछ ।’

पहिला भवनको संरचना साँगुरो रहेको, कोभिडका कारण ठाउँ छुट्याउनु परेको अवस्थामा पनि त्यहीभित्रबाट सेवा-सुविधा दिनुपर्ने भएकाले बरण्डामा नै राखेर सेवाग्राहीको उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था अस्पतालसँग रहेको खतिवडाले स्वीकार गरे । उनी निरीक्षणका लागि अस्पतालभित्र पुग्दा सुत्केरी महिलाहरुलाई अस्पतालको प्यासेज तथा बरण्डामा राखेर उपचार गराएको अवस्थामा देखेका थिए । उनले यी समस्या अबको केही महिनाभित्रै समाधान भएर जाने स्पष्ट पारे ।

बीमा कार्यक्रम लागू भएपछि अहिले बिरामीले सास्ती पाउँदै आएका छन् । एकजना बिरामीले उपचार पाउन एक हप्तासम्म धाउनुपर्ने बाध्यता रहेको छ । कोशी अस्पताललाई प्रदेश १ कै सुविधा सम्पन्न अस्पतालको रुपमा हेर्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *