प्रहरी हत्या प्रकरण : अभियुक्त ९ जनालाई जन्मकैद

धनगढी । कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । मंगलबार जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको इजलासले ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

धनगढी उपमहानगरपालिका-१० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको कैलालीका सहायक न्यायाधीवत्ता सुरबहादुर परियारले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकामध्ये व्यापारी भनिएका राजीव गुप्ताले भने सफाइ पाएका छन् । उनीहरूलाई अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो । उनीहरूले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेका थिए ।

२०७७ कार्तिक १ गते राति साढे १० बजे धनगढी उपमहानगरपालिका वडा नम्बर १२ स्थित अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज असई बिक र प्रहरी जवान साउँदको वडा नम्बर १० स्थित मोहना नदी किनारमा हत्या भएको थियो ।

सीमामा अवैध समानहरूको तस्करी गरिरहेका तस्करहरूको समूहलाई रोक्ने एवं नियन्त्रणमा लिने क्रममा तस्करहरूको समूहले योजनाबद्ध रूपमा धारिलो हतियार प्रहार गरी दुवै जनाको हत्या गरिएको थियो । शव सीमा नाका मोहना नदीमा फेला परको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *