बार सल्लाहकार समितिले भन्यो- ‘प्रधान न्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन हुन्छ’

काठमाडौँ । नेपाल बार एशोसिएशन सल्लाहकार समितिले प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबरालाई राजीनामा दिन आग्रह गरेको छ । मंगलबार बसेको समितिको बैठकले प्रधान न्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।

बैठकमा सहभागी अधिवक्ता टीकाराम भट्टराईकाअनुसार बैठकले प्रधान न्यायाधीशलाई राजीनामा दिन आग्रह गरेको र नदिए आन्दोलन हुने बताए । सल्लाहकारहरूले प्रधान न्यायाधीश जबराले न्यायालयको गरिमा बचाउन नसकेको, आफ्नै सहकर्मीको विश्वास जित्न नसकेको, न्यायिक विचलन बढेर गएकोलगायतका निष्कर्ष निकालेको थियो ।

यसपछि प्रधान न्यायाधीश जबराले राजीनामा दिनुपर्ने समितिले ठहर गरेको हो । ‘सल्लाहकारहरूको बैठकले उहाँ (प्रधान न्यायाधीश) ले मार्गप्रशस्त गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ,’ अधिवक्ता भट्टराईले भने, ‘यही निष्कर्षसहित बैठकले नदिए आन्दोलन गर्नेसमेत मनसाय बनाएको छ ।’ बैठकमा सहभागी ३६ सल्लाहकारहरूले राजीनामा मागेको अधिवक्ता भट्टराईले बताए ।

प्रधान न्यायाधीश जबराले भने आफूले राजीनामा नदिने अड्डी कसेका छन् । आफू संवैधानिक प्रक्रियाबाट आएको र त्यही प्रक्रियाबाट बाहिरिने अडान लिएका प्रधान न्यायाधीश जबराले ‘सडकबाट राजीनामा मागिँदैनमा नदिने’ दोहोर्‍याउँदै आएका छन् ।

उनलाई बार एशोसिएशन, पूर्वप्रधान न्यायाधीश फोरमसमेतले राजीनामा गर्न सुझाव दिएको छ । उनीमाथि मन्त्रिपरिषद्‌मा भाग खोजेको, विवादरहित न्यायालय बनाउने विषयलाई बेवास्ता गरेको, मुद्दाहरूमा सुनुवाइ नभएकोलगायतका आरोपहरू छन् । यसपछि सर्वोच्च अदालतकै न्यायाधीशहरू पनि प्रधान न्यायाधीश जबराको विपक्षी कित्तामा उभिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *