प्रदेश १ : सदन स्थगनका लागि दुई दलले निवेदन दिएपछि सभामुख परामर्शमा

विराटनगर । प्रदेश सभामा सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेरै सदन स्थगित गरेको जस्तो देखिएको छ । प्रतिपक्ष नेपाली कांग्रेसले सदन स्थगित गर्नका लागि निवेदन दिएसँगै नेकपा एमालेले पनि १५ गतेसम्मका लागि सदन स्थगितको माग गर्दै निवेदन दर्ता गरेको हो ।

आज दिउँसो १२ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठकका लागि कार्यसूची पनि सार्वजनिक भइसकेको छ । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भनेर सार्वजनिक भएको कार्यसूचीमा १२:३० मिनेटका लागि सदनको समय तोकिएको छ । तर अहिले पनि सदन स्थगित गर्ने/नगर्ने भन्ने बारेमा छलफल भइरहेको प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

दलहरूको तर्फबाट निवेदन आएको र त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा छलफल भइरहेको पराजुलीले जानकारी दिए ।

समस्या देखाउँदै सदन स्थगित गर्न माग
कांग्रेसले आज प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ भ्रमण हुने भएकाले बैठक स्थगित गर्न माग गरेको हो । एमालेले कात्तिक ९ गते पालिका अधिवेशनलगायतको कारण देखाउँदै बैठक स्थगित गर्न माग गरेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी बताए ।

दुई दलले बैठक स्थगित गर्न माग गरेपछि सभामुख प्रदीपकुमार भण्डारी त्यसबारे परामर्शमा छन् । एमालेले १५ गतेसम्मको लागि सदन स्थगन गर्नुपर्ने माग गरेका छन् भने कांग्रेसले १ दिनका लागि स्थगनको माग गरेको थियो । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । ९२ सदस्यीय प्रदेश सभामा सरकार टिकाइराख्न मुख्यमन्त्री आचार्यलाई ४७ सांसदको समर्थन चाहिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *