प्रदेश सभा बैठक स्थगित गर्न माग गर्दै कांग्रेसको निवेदन

विराटनगर । नेपाली कांग्रेसले आइतबार (आज) बस्ने प्रदेश सभाको बैठक स्थगनको माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएको छ । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सभाको बैठक एक दिन सार्न माग गर्दै निवेदन दर्ता गराएको संसद् सचिवालयले जनाएको छ ।

कांग्रेसका केही सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिने सूचना पाएपछि प्रदेश सभाको बैठक नै सार्न निवेदन परेको हो । प्रमुख सचेतक कार्कीले प्रधान मन्त्री शेरबहादुर देउवाको प्रदेश नं. १ को भ्रमणको कारण प्रदेश सभाको आजको बैठक १ दिन सार्न माग गरेर निवेदन दर्ता गरिएको बताए ।

प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्यले आजै विश्वासको मत लिने कार्यसूची रहेको थियो । ‘उहाँले (मुख्यमन्त्री) विश्वासको मतको लागि निवेदन दिनुभएको छ । हामी आत्तिनुपर्ने अवस्था छैन,’ कार्कीले मकालुखबरसँग भने, ‘मन्त्री बन्ने र बनाउने कुरामा किन हतार गर्नु र ?’

उनले पहिलो प्राथमिकता जनताको समस्याको भएकोले प्रधान मन्त्रीको भ्रमणलाई ध्यानमा राखेको बताए । फ्लोर क्रसबारे भने कार्कीले कही प्रतिक्रिया दिएनन् । विपक्षी विपक्षी गठबन्धनभित्र फ्लोर क्रस गर्ने कुराले भने प्रदेश सभा तरंगित बनाएको छ ।

९२ सदस्यीय प्रदेश सभामा एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । उनलाई बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । तर विभाजनपछि एमालेका ४१ जना मात्र सांसद छन् । नेपाली कांग्रेसभित्रको दलको विवादका कारण प्रदेश १ मा फ्लोर क्रसको सम्भावना बढ्दै गएको छ ।

बागमती प्रदेशमा आधा-आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमती भएपनि प्रदेश १ लाई उपेक्षा गरिएको दलभित्रैबाट कुरा उठ्दै आएको छ । शनिवार नै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेश १ को नेतृत्व कुनैपनि हालतमा कांग्रेसले लिनुपर्ने बताएका छन् । उनले दलको नेता परिवर्तन गरेर भएपनि मुख्यमन्त्री काग्रेसले लिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *