मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज (आइतबार) विश्वासको मत लिँदैछन् । शुक्रवार प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेस भएकोमा आज मत विभाजन हुने संसद् सचिवालयले जनाएको छ।

आचार्यले असोज २५ मा विश्वासको मत चाहिएको प्रस्तावको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए ।  त्यसैको आधारमा शुक्रवार सभामुखले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत आवश्यक परेको भन्दै प्रस्ताव राख्न प्रदेश सभामा समय दिएका थिए ।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश १ को प्रदेश सभा नियमावली २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् ।  आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको भन्दै आलोचना हुँदै आएको छ ।

प्रदेश सभामा आवश्यक बहुमत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्दछ । नेकपा एमाले विभाजनसँगै १० जना सांसद एकीकृत समाजवादीमा गएपछि एमालेसँग ४१ जना सांसद बाँकी छन् । यो सङ्ख्या सरकार बनाउने वा गिराउने बहुमत सङ्ख्या होइन ।

विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, संघीय समाजवादी तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च एक ठाउँमा उभिएका छन् ।

प्रदेश सभामा नेपाली कांग्रेस २१, नेकपा माओवादी १५, नेकपा एस १०, जसपा ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १/१ जना प्रदेश सभा सदस्य छन् । प्रस्ताव माथिको छलफल तथा मत विभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज मध्यान्ह १२ बजे  प्रदेश सभा बैठक बोलाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *