पदम विश्वकर्माको ‘क्वारेन्टाइन’ लोकार्पण 

काठमाडौँ । अन्तर्राष्ट्रिय साहित्य समाजका पूर्व अध्यक्ष तथा साहित्यकार पदम विश्वकर्माको पहिलो उपन्यास कृति ‘क्वारेन्टाइन’को शुक्रवार लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले सो उपन्यासको लोकार्पण गरेका हुन् ।

उपन्यासमाथि टिप्पणी गर्दै कुलपति उप्रेतीले उपन्यास सरल भाषामा रहेर पनि नयाँ तथा समसामयिक विषय समेटेको बताए । दुई वर्षदेखि विश्वभरि मानव जातिलाई आक्रान्त पारेको कोरोना भाइरसले दिएको पीडालाई समेटिएकोले उपन्यास ऐतिहासिक कृतिको रूपमा स्थापित भएको कुलपति उप्रेतीले बताए । प्रवासमा रहेर पनि नेपाली भाषा साहित्यको विकास र प्रवर्द्धनमा विश्वकर्माले पुर्‍याएकाे योगदान अतुलनीय रहेको उनले बताए ।

उपन्यासमाथि समीक्षा गर्दै सञ्चारकर्मी तथा समीक्षक राजकुमार बानियाँले उपन्यासमा कोरोना भाइरसको पहिलो लहरमै अमेरिकामा रहेका नेपालीले भोगेको पीडाको वर्णन समावेश भएको बताए । पुस्तकमा आदर्श र यथार्थको फ्युजन, आख्यान र गैरआख्यानको स्वाद पाइएको बताए ।

आफ्नै कृति माथि बोल्दै साहित्यकार विश्वकर्माले कोरोना भाइरसको कारण अमेरिकामा नेपालीले भोग्नु परेको कारुणिक पीडा उपन्यासमा समेटेको बताए । कोरोनाको कारण मृत्यु भएपछि आफन्तले छुन र हेर्न नपाएका पीडाहरू र प्रदेशबाट शव आफ्नो देशमा ल्याउन नपाउँदाको पीडा समेत समेटेको बताए ।

‘अस्पतालमा लाशको खातले लाश राख्ने ठाउँ थिएन, ती कोलाहलपूर्ण दृश्य देखेपछि यी विषयमा लेख्नु पर्छ भन्ने लागेपछि यो विषयमा लेखेको हुँ’ उनले आफ्नो कर्मथलो अमेरिकाको क्लोराडोको घटना स्मरण गर्दै भने । उनले उपन्यास लेख्दा–लेख्दै धेरै पटक भावुक भएको स्मरण गरे ।

साहित्यकार गीता खत्रीले उपन्यास भोक्त भएर लेखिएको हुनाले मौलिकपन रहेको र विश्वको कालखण्डको घटनालाई समेट्न सफल भएको बताइन् । ‘यो कृति पढ्दा म त्यही घटनाको स्मरण भए र रातभरि सुत्न सकिन’ उनले भनिन् । विश्वकर्माले पछिल्ला साहित्यिक कृतिहरूले अघिल्ला कृतिहरू भन्दा बलियो भएर आइरहेको बताइन् ।

सांग्रिला प्रकाशनले प्रकाशित गरेको ‘क्वारेनटाइन’ १ सय ८४ पृष्ठ रहेको यो उपन्यासको बजार मूल्य ३ सय ५० रहेको छ । अमेरिकाको क्लोराडोमा लामो समयदेखि व्यवसाय गर्दै आएका विश्वकर्मा यसअघि नै अन्तर्राष्ट्रिय साहित्य समाजका दुई कार्यकालका लागि अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।

यस अघि उनको दुई वटा कविता सङ्ग्रह ‘वर्ड फ्लोरेटस’ र ‘शब्द सुमन’ प्रकाशित भइसकेका छन् । ‘तमसुक’ कथासङ्ग्रह पनि प्रकाशित भइसकेको छ । पदम विश्वकर्मा साहित्य प्रतिष्ठान स्थापना गरेर उनले साहित्यको क्षेत्रमा थप योगदान  प्रदान गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *