विराटनगर : बाढीपीडितलाई राहतस्वरुप ५० हजार रुपैयाँ दिइने

विराटनगर । गएको कात्तिक १ र २ गते परेको अविरल वर्षाका कारण आएको बाढीले विराटनगर महानगरपालिकाभित्र तीन जनाको मृत्यु भएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले आज बसेको महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा उक्त जानकारी दिँदै मृतकका परिवारलाई तत्काल राहत स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको बताए ।

उनले बाढी र डुबानबाट विस्थापित परिवारलाई खाना खुवाउनुका साथै यसबाट भएको क्षतिको विवरण महानगरले सङ्कलन गरिरहेको जानकारी दिए । बाढीका कारण प्रभावित भएका कृषक र व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकारसमक्ष माग गरिने प्रमुख पराजुलीले बताए ।

वर्षाका कारण विराटनगरका अधिकांश वडा डुबानमा परेको महानगरपालिकाका राजेन्द्र प्रधानले जानकारी दिए । प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म दुई हजार ६९० घर परिवार बाढी र डुवानबाट प्रभावित भएको उनले बताए । विराटनगर–१ मा सबैभन्दा बढी ६०० घर परिवार डुबानमा परेका छन् ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *