प्रदेश १ मा बाढी पहिरोबाट ७० जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो बेमौसमी बाढी र पहिरोमा परी ७० जनाको मृत्यु भएको प्रदेश सरकारले जनाएको छ । विश्वासको मत लिने सन्दर्भमा बोल्दै प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेश १ मा बाढी र पहिरोले ठुलो जनधनको क्षति गरेको बताएका हुन् ।

प्रदेश सरकारको तथ्याङ्कअनुसार पाँचथरमा सबैभन्दा धेरै २८ जनाले ज्यान गुमाएका छन् । ईलाममा १४ जना, सुनसरीमा ११, धनकुटामा ७, मोरङमा ६ जना, उदयपुरमा २ तथा सोलु र भोजपुरमा १/१ जना गरी ७० जनाको मृत्यु भएको आचार्यले सभालाई जानकारी गराए । उनका अनुसार प्रदेश १ मा १८ जना घाइते, १२ जना बेपत्ता रहेका छन् ।

बाढी र पहिरोमा परी ४० घर पूर्ण क्षति भएको तथा १ हजार ८ सय २५ घर आंशिक क्षति भएको उनले बताए । हजारौँको संख्यामा कुखुरा मरेको, फर्महरू बगाएको, पाकेको धान धेरै नष्ट भएको पनि मुख्यमन्त्री आचार्यले सदनलाई जानकारी गराए । सरकारको तथ्याङ्कमा प्रदेश १ मा १० हजार हेक्टरको काटेको धान नष्ट भएको र त्यो क्षति झापामा धेरै रहेको छ ।

करिब ५० हजार हेक्टर क्षेत्रमा लगाएको धानमा क्षति भएको सरकारको दाबी छ । समग्रमा करिब ८ प्रतिशत धानबाली नष्ट हुने अनुमान सरकारको छ । ‘स्थानीय सरकारहरूले आफ्नो बलबुताले भ्याएसम्म स्थानीय रुपमा उद्दार र राहतमा लागेका छन्,’ उनले भने, ‘प्रदेश सरकारले घर पूर्ण क्षति भएकाको लागि ३ लाख र सामान्य क्षति भएको घरहरूलाई ३५ र १५ हजार रुपैयाँ दिने निर्णय भएको छ ।’ धानमा क्षति भएको आधारमा सम्पूर्ण नोक्सान भएको धानको २५ प्रतिशत र विवरण आएपछि पशुपन्छीको पनि राहत दिने मुख्यमन्त्री आचार्यले बताए ।

मुख्यमन्त्री आचार्यले शुक्रबार नै प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् । उनले आइतबार दिउँसो १२ बजे विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *