मानिसमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण 

काठमाडौँ । अमेरिकामा पहिलो पटक सुँगुरको मिर्गौला सफलतापूर्वक मानिसको शरीरमा प्रत्यारोपण गरिएको छ । यसमा व्यक्तिको प्रतिरोधात्मक प्रणालीले सो मिर्गौलालाई ‘रिजेक्ट’ नगर्दा यो परीक्षण ठूलो सफलता बनेको हो ।

यस नयाँ उपलब्धिले प्रत्यारोपण प्रक्रियाका लागि आवश्यक मानव अङ्ग अभावको समस्या समाधानमा उल्लेखनीय मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ । यो शल्यक्रिया न्युयोर्क सिटीस्थित एन.वाइ.यु लेनेगोन हेल्थमा गरिएको थियो । यसमा मानव शरीरले तुरुन्तै नकार्ने सुँगुरको टिस्युलाई हटाउन त्यसको जिन परिमार्जित गरिएको हो ।

यसमा शल्यक्रिया गरिएकी व्यक्ति चाहिँ केही समय अगाडि नै ‘ब्रेन डेड’ घोषणा गरिएकी थिइन् जसको मिर्गौलाले काम नगरेको लक्षण देखिन्थ्यो । त्यसैले उनका परिवारसँग अनुमति मागेर उनलाई लाइफ-सपोर्टबाट हटाउनु अगाडि यो परीक्षण गरिएको अध्ययनकर्ताहरूले रोयटर्ससँग बताएका छन् ।

यसमा तीन दिनसम्म नयाँ मिर्गौला उनको रक्त नलीसँग जोडिएर रहेको र बाहिरी शरीरमा पनि कायम रहेको बताइएको छ । प्रत्यारोपण गरेका सर्जन, डाक्टर रोबर्ट मोन्टगोमेरी भन्छन्, ‘परीक्षणको नतिजामा सो मिर्गौलाले सामान्य जसरी काम गरेको देखियो । मान्छेबाट प्रत्यारोपण गरिने मिर्गौलाबाट अपेक्षा गरिने जति नै पिसाब यसले उत्पादन गर्‍यो ।’

ती व्यक्तिमा प्रत्यारोपण भन्दा पहिले असामान्य ‘क्रिएटिनाइन लेभल’ रहेको थियो जुन कमजोर मिर्गौलाको सङ्केत हो । तर सुँगुरको मिर्गौला प्रत्यारोपण गरिसकेपछि भने सो स्तर सामान्यमा फर्किएको मोन्टगोमेरीले बताए । अमेरिकामा मात्र हाल एक लाख ७ हजार बढी बिरामीहरू अङ्ग प्रत्यारोपण गर्ने पर्खाइमा छन् जसमध्ये ९० हजार बढीले मिर्गौला प्रत्यारोपण गर्न कुरिरहेका छन् । मिर्गौलाका लागि बिरामीले प्रायः पाँच वर्षसम्म पर्खिनुपर्ने हुन्छ ।

त्यसैले पनि वैज्ञानिकहरू जीवजन्तुको अङ्ग प्रत्यारोपण गर्ने सम्भाव्यताबारे दशकौँ अगाडिदेखि अध्ययन गरिरहेका छन् । तर हरेक पटक जनावरको अङ्ग प्रत्यारोपण गर्नासाथ हाम्रो शरीरले ‘रिजेक्ट’ गर्ने अर्थात् नअपनाउने समस्या रहँदै आएको थियो ।

यसैको समाधानका लागि मोन्टगोमेरीको टिमले उक्त ‘रिजेक्सन’ निम्त्याउने सुँगुरको जिन परिमार्जित गरी हटाउने सिद्धान्तमा काम गरिरहेका थिए । ‘गलसेफ’ नाम दिइएको सो परिमार्जित जिन युनाइटेड थेरापेउटिक्स कोप्र्स रिभिभिकोर युनिटले निर्माण गरेको थियो । यसपछि अमेरिकी खाद्य तथा औषध विभाग, एफडीएले यसलाई डिसेम्बर २०२० मा मासुको एलर्जी हुने मानिसहरूले प्रयोग गर्न सक्ने भनेर स्वीकृत गरेको थियो । –रोयटर्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *