प्रदेश पर्यटन बोर्डले काम थाल्यो

विराटनगर । प्रदेश पर्यटन बोर्डले काम थालेको छ। प्रदेश १ मा गठन भएको प्रदेश पर्यटन बोर्डले बिहीबारदेखि कार्यालय स्थापना गरेर काम सुरु गरेको हो ।  गत असोज २४ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्रदेश पर्यटन बोर्ड गठन गर्दै जिम्मेवारी तोकेको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार बोर्डको उपाध्यक्षमा फडिन्द्र अधिकारी सहित ११ सदस्यीय बोर्ड गठन भएको थियो ।

प्रदेश पर्यटन बोर्डको कार्यालयको प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण तिवारी र राज्यमन्त्री उत्तम कुमार बस्नेतले शुभारम्भ गरेका हुन् । हाललाई मन्त्रालयमै बोर्डको कार्यालय राखिएको छ।

कार्यालय स्थापनासँगै  उपाध्यक्ष फणिन्द्र अधिकारी सहितका सदस्यहरूले पद बहाली गरेका छन् । कार्यालय  उद्घाटन गर्दै मन्त्री तिवारीले प्रदेश पर्यटन बोर्डको स्थापनासँगै  आगामी दिनमा पर्यटकीय गतिविधि बढ्दा विश्वास व्यक्त गरे ।

‘बोर्डको स्थापना सँगै प्रदेशको पर्यटन प्रवर्द्धन र पर्यटन पूर्वाधारको विकासका लागि बोर्डले कार्ययोजनाका साथ काम गर्ने छ, मन्त्री तिवारीले भने, बोर्डलाई केही वर्ष सरकारले नै सहयोग गर्ने र त्यसपछि बिस्तारै आफैँ स्रोतको व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने छ ।’ राज्यमन्त्री बस्नेतले पर्यटन क्षेत्रलाई उद्योगका रूपमा अघि बढाउनका लागि बोर्डको भूमिका महत्त्वपूर्ण हुने बताए ।

पद बहाली गर्दै प्रदेश पर्यटन बोर्डका उपाध्यक्ष फणिन्द्र अधिकारीले बोर्ड गठनसँगै कार्यालय सञ्चालन हुनुले अब पर्यटन सम्बन्धी योजना निर्माण सहित बोर्डले गतिविधि अघि बढाउने बताए ।  ‘बोर्डमा हामी पर्यटनमा केही गरौँ भन्ने युवाहरूको समूह छ, उनले भने, आगामी दिनमा योजना बनाएर पर्यटन  सम्बन्धी गतिविधिका लागि  कामहरू अघि बढाउने छौँ ।’

कार्यालय स्थापना तथा पद बहाली कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य कृष्णकुमार शाह, होटल व्यवसायी संघका केन्द्रीय सदस्य राजन श्रेष्ठ, पर्यटन पुनरुत्थान समितिका प्रदेश संयोजक भविश श्रेष्ठ, होटल व्यवसायी संघ प्रदेश १ का अध्यक्ष राजेन्द्र दंगालले बोर्ड गठन र कार्यालय स्थापना गरेर सरकारले पर्यटन क्षेत्रका लागि नयाँ कामको सुरुवात गरेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *