कहिँ नभएको जात्रा हाँडीगाउँमा (तस्बिरहरू)

काठमाडौँ । बर्सेनि कोजाग्रत पूर्णिमाको भोलिपल्ट हुने ‘गन न मरु जात्रा हाँरिगामे’ अर्थात् ‘कहिँ नभएको जात्रा हाँडीगाउँमा’ नामले प्रसिद्ध जात्रा आज सुरु भएको छ । भगवान विष्णुसँग जोडिएको श्री नारायण जात्रासमेत भनिने यो जात्रा काठमाडौँको प्राचीन शहर हाँडीगाउँमा आज एकदिन चल्नेछ ।

हाँडीगाउँका ३ स्थानबाट एकै समयमा रथ निकालेर शहर परिक्रमा गराएपछि पुनः एकै ठाउँमा भेला पारेर यो जात्रा मनाउने गरिन्छ ।

हिन्दु कथामा आधारित समुद्र मन्थनसँग जोडिएको किम्वदन्ती रहेको यो जात्रामा सुरुमा ३ वटा रथलाई ३ वटा चोकमा घुमाइन्छ । रथको माथिल्लो भागलाई क्रमशः हिमाल, पृथ्वी र कछुवा अनि सबैभन्दा तलको भागलाई भगवान विष्णु भनी मानिँदै आएको छ ।

अर्को किम्वदन्तीअनुसार प्राचीन समयमा भगवान विष्णु मानवको भेषमा हाँडीगाउँ घुम्न आउँदा प्रसव वेदनाले छट्पटिइरहेकी महिलालाई भेट्दछन् । त्यसपछि भगवान विष्णुले ‘तिमी भगवानको नाम लिऊ, तिमीलाई केहि सहज हुन्छ’ भन्दा ती महिलाले नमानेपछि विष्णु रिसाएर हिमालय पर्वततर्फ लागे । त्यसपछि १२ वर्षसम्म ती महिला प्रसव वेदनामै रहिन् । पछि विष्णु रिसाएको कुरा स्थानीय पुरोहितले थाहा पाएर हिमालय पर्वत गई भगवान विष्णुसमक्ष याचना गर्दै ‘हामी तपाईँको नामामा यो संसारमा कहिँ नभएको जात्रा गर्नेछौँ, मैनको फूल चढाउँछौँ’ भनेर पुकार गरेपछि ती महिलाको प्रसव वेदना कम भई बच्चा जन्माएको किंवदन्ती रही आएको छ । त्यसबेलादेखि हाँडीगाउँमा यो जात्रा चलिआएको किंवदन्ती पनि रहिआएको छ ।

अहिले पनि रथमा चढाएको मैनको फूल गर्भवती महिलाले शिरमा लगाउँदा बच्चा जन्माउन सजिलो हुने विश्वास गरिन्छ ।

सामान्यत जात्रामा प्रयोग हुने खट वा रथमा सबैभन्दा माथी गजुर र मुनि मुर्ती हुन्छ । तर यो जात्रामा प्रयोग हुने घटमा भने सबैभन्दा माथी मूर्ति र तल गजुर हुन्छ । त्यहि भएर यसलाई ‘कहिँ नभएको जात्रा’ भन्न थालिएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *