‘बास्ता नाला’ले डुबायो विराटनगर विमानस्थल

विराटनगर । विराटनगर विमानस्थल डुबानको कारण बास्ता नाला रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायले निष्कर्ष निकालेका छन् । २०७४ सालमा विमानस्थल डुब्दा केसलिया खोला पसेर लेदोले भरिएको अवस्था थियो भने यो वर्ष लेदो बिनाको पानीले विमानस्थल डुबेको छ।
बुधवार बिहान एक्कासी पानीको मात्रा बढ्दै जाँदा बास्ता नाला भरिएर विमानस्थलमा पानीले भरिएको  नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख उत्सव खरेलले जानकारी दिए । मङ्गलवार दिउँसो ४ बजेपछि  उडान र अवतरण रोकिएको विराटनगर विमानस्थल बुधवार बिहान डुबानमा परेको थियो ।

विराटनगर विमानस्थल प्रशासनका अनुसार विमानस्थलबाट तत्काल उडान हुनसक्ने अवस्था छैन । रनवेमा पानी नभए पनि  ट्याक्सी वे, टर्मिनल भवन र अगाडी पानी जमेको कारण विमानस्थल तत्काल खुल्न सक्ने सम्भावना नभएको खरेलले बताए ।

‘ब्राबो वे भन्ने ठाउँमा अहिले पनि बास्ता नालाबाट निस्किएको पानी बगेको छ, उनले भने, बास्ता नालाको पानी नघटेसम्म विमानस्थलको पानी घट्ने सम्भावना छैन ।’ पहिलाको जस्तो अहिले बास्तानालाबाट सहज पानीको निकास हुन नसकेको प्राधिकरणको निष्कर्ष छ।

बास्ता नाला साँगुरिएको कारणले गर्दा पानी पसेको र तत्काल यसको निकास नखोज्ने हो भने दीर्घकालीन रूपमा समस्या रही रहने खरेलले मकालुखबरलाई जानकारी दिए । विराटनगरका फोहोरहरू बास्ता नालामा फालिँदा त्यसको असर  अहिले  विमानस्थलमा परेको छ।

आज पानी परेन भने बास्ता नालाको पानीको लेभल घट्छ, त्यसैको आधारमा विमान उडान अवतरणको टुङ्गो लाग्ने खरेलको भनाई छ। ‘विमानस्थल लो ल्यान्डमा रहेको छ, खरेलले भने, बास्ता नालाको व्यवस्थापन नगर्ने हो भने सधैँ डुबान हुने सम्भावना देखियो महानगरपालिकाले यसको निकास तत्काल निकाल्न सहयोग गर्नु पर्छ ।’

समस्या समाधानको लागि बास्ता नालाको ड्याम बनाउने, त्यसलाई चौडाइ गर्ने, अतिक्रमण भएका ठाउँहरू खुलाउने हो भने धेरै हदसम्म समस्याको समाधान हुन्छ, खरेलले भने ।  विमानस्थलको करिब डेढ किलोमिटरको दुरी बास्ता नालाले घेरेको छ।  विमानस्थल प्रमुख खरेलका अनुसार आज सरसफाइको काम भइरहेकोले भोलिसम्ममा पानीको लेभल घटेको अवस्थामा शनिवारदेखि नियमित उडान हुन सक्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *