बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई जनही एक लाख दिइने

विराटनगर । प्रदेश सरकारले प्रदेश १ मा बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने भएको छ ।  प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले  ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति प्रदेश सरकारबाट  एक लाख दिने निर्णय गरेको हो ।

पूर्ण रूपमा बाढी पहिरोले घरमा क्षति पुर्‍याएको परिवारलाई घर बनाउन  भूकम्पमा क्षति भए सरह (३ लाख) राहत उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री भीम आचार्यको सचिवालयले जनाएको छ।

विराटनगरको हवाई सेवा सुचारु गर्न, दुहबीमा बिजुलीको स्टेसनमा भएको समस्या तत्काल समाधान गर्न, बाढी पहिरोमा फसेकालाई उद्धार, सहयोग गर्न तथा  प्रदेश भरी भएको क्षतिको विवरण सङ्कलन गर्न मातहतका निकायलाई मुख्यमन्त्री आचार्यले निर्देशन दिएका छन् ।

स्थानीय  तहहरूसँग समन्वय गरी भएका सबै अवरोधहरू हटाउन सरकारका सबै संयन्त्र परिचालित हुन समेत निर्देशन दिएका छन् ।  मुख्यमन्त्री कार्यालयका अनुसार बुधवार साँझसम्म प्रदेश १ मा ३८ जनाको ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *