कैलालीको कैलारीमा बाढी प्रभावित लक्षित खाद्य बैंक स्थापना

कैलाली । कैलालीको कैलारी गाउँपालिकाले बाढी प्रभावितलाई लक्षित गरेर खाद्य बैंक स्थापना गर्ने भएको छ ।

गाउँपालिकाभित्र बाढीका कारण ठूलोमात्रामा धानबालीमा क्षति भएपछि भोकमारीको समस्या आउन नदिन खाद्य बैंक स्थापना गर्ने भएको हो ।

गाउँपालिका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले तत्कालका लागि तीन करोड रुपैयाँको खाद्य बैंक स्थापनाका लागि कोष स्थापना गर्नेलगायत निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष चौधरीले केही विकास बजेटलाई कटौती गरी तत्कालका लागि ३ करोड रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको बताए ।

उनले बाढीका कारण किसानले ठूलो क्षति व्यहोर्नुपरेकाले भोकमरी अवस्था आउन नदिन सो खाद्य बैंकमार्फत खाद्यान्न आवश्यक परेका परिवारजनलाई खाद्यान्न उपलब्ध गराउने बताइ । बैठकले केही विकास बजेटको रकम खाद्य बैंक स्थापनाका लागि बनाइने कोषमा जम्मा गर्ने निर्णय गरेको उनले बताए ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकले पनि आफ्नो एक दिनको पारिश्रमिक त्यही कोषमा जम्मा गर्ने निर्णय भएको बताउँदै चौधरीले भने, ‘सामाजिक सङ्घसंस्थालाई समेत सक्दो सहयोग गर्न अपील गरेका छौँ ।’ बैठकले चालू आर्थिक वर्षमा हिउँदे बालीमा शतप्रतिशत अनुदान दिने निर्णयसमेत गरेको जनाइएको छ । बाढी प्रभावितलाई राहतका लागि प्रदेश र सङ्घीय सरकारलाई राहत प्याकेज ल्याउन आग्रह गरिएको छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =