पद्मश्री साधना सम्मानबाट भजनशिरोमणि आचार्य सम्मानित

काठमाडौँ । पद्मश्री साधना सम्मान-२०७७ बाट यो वर्ष भजन शिरोमणि भक्तराज आचार्य सम्मानित भएका छन् ।

खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले आज (बुधबार) विशेष समारोहका बीच नगद तीन लाख रुपैयाँसहित सम्मानपत्र भजन शिरोमणि आचार्यलाई प्रदान गरिन् ।

भजन शिरोमणि आचार्यले आफूले विसं २०५० मा आफ्नो जिब्रो काटिएपछि धेरै सम्मान प्राप्त गरेको भए पनि हालसम्मकै सबैभन्दा ठूलो धनराशिको सम्मान पाएकोमा खुसी व्यक्त गरेको उनका छोरा तथा गायक सत्यराज आचार्यले बताए ।

गायक आचार्यले सम्मानपत्र, दोसल्लाभन्दा पनि नगदले सम्मान गर्दा साहित्यकार, लेखकलाई जीविकोपार्जन तथा औषधोपचारमा सहयोग पुग्ने अनुभव सुनाए ।

त्यस्तै पद्मश्री साहित्य पुरस्कार–२०७७ बाट यस वर्ष आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ । उक्त पुरस्कारको राशी पनि तीन लाख रुपैयाँ रहेको छ । आख्यानकार दाहाललाई प्रतिष्ठानका तर्फबाट पोखरेलले उक्त पुरस्कार तथा सम्मानपत्र प्रदान गरिन् ।

आख्यानकार दाहालले मोक्षभूमि औपन्यासिक कृति मानव सभ्यतामा मुक्ति चाहनेहरुको सङ्घर्षको कथा भएको र आगामी दिनमा पनि राजनीतिबाहेक लेखन क्षेत्रमा पनि निरन्तर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *